Headlines News :
Home » » सौराहामा नयाँ १० पर्यटकीय होटल खुल्दै

सौराहामा नयाँ १० पर्यटकीय होटल खुल्दै

Written By Unknown on Tuesday, October 30, 2012 | 2:49 AM


सौराहा (चितवन) , कार्तिक १४ - पर्यटक आगमन बढेपछि सौराहामा ठूलो लगानीमा धमाधम होटल खुल्न थालेका छन् । पर्यटक आगमन हेरेर कम्तीमा १० बटा होटल निर्माण भइरहेका छन् । सौराहामा करिव ८० वटा होटल सञ्चालनमा छन् ।
'पछिल्लो समय होटलमा लगानी गर्नेको संख्या निकै बढेको छ, दुई वर्षअघि करिब ५ करोड लगानी गरेर मोनालिसा होटल सञ्चालनमा ल्याएका केशव खनालले भने,  'ठूलो लगानीमा १० भन्दा बढी नयाँ होटल सञ्चालनमा आउने तयारीमा छन् ।× लगानीकर्ताको उत्साह हेर्दा दुई वर्षभित्रै होटलको संख्या सय नाघ्ने देखिन्छ ।' बनिरहेका होटलहरूमा कम्तीमा ३ करोडदेखि १२ करोड रुपैयाँसम्म लगानी भएको उनले जानकारी दिए । उनका अनुसार होटल खोल्न कोठा संख्या, त्यसमा उपलब्ध हुने सुविधा, कम्पाउन्डको आकारअनुसार खर्च हुन्छ । यस हिसाबले नयाँ होटल खोल्न ५० करोडभन्दा बढी लगानी थपिएको अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय ठूलो लगानी गरेर होटल खोल्ने क्रम बढेको क्षेत्रीय होटल संघका अध्यक्ष नारायण भट्टराई बताउँछन् । 'अहिले एउटै होटलमा १० करोडभन्दा बढी लगानी भएको छ,' उनले भने, 'पहिले त्यति लगानीमा १०/१२ वटा होटल खुल्थे ।' संघका अनुसार पछिल्लो समय गि्रन पार्क, रोयल सफारी, सेभेन स्टारलगायतका होटल ठूलो लगानीमा निर्माण भइरहेका छन् । यही तीन महिनाअघि वाइल्डलाइफ एड्भेन्चर रिसोर्ट सञ्चालनमा आएको संघका अध्यक्ष भट्टराइले जानकारी दिए । यस्तै ६ महिनाअघि वेस्टउड सञ्चालनमा आएको थियो । नाम नजुराइएका अरू केही होटल निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।
लिजमा लिएर गोर्खा हेम्लेट रिसोर्ट सञ्चालन गर्दै आएका शम्भु माझीले करिव ४ करोडको लगानीमा रोयल सफारी रिसोर्ट बनाउँदैछन् । 'कोठा दुई साताभित्रै सञ्चालनमा आउँछन्, उनले भने, डाइनिङ, बार बन्ने क्रममा रहेकाले केही समय लाग्ला । युनिक वाइल्डलाइफका सञ्चालक केशव पाण्डेले श्यामसुन्दर कँडेल र जयराम रिमालसँग मिलेर गि्रनपार्क रिसोर्ट निर्माण गरिरहेका छन् । स्विमिङ पुल, हनिमुन रुम, सम्मेलन हलसहितको हाम्रो रिसोर्ट यस क्षेत्रमै पहिलो नमुनाको हुनेछ, सञ्चालक पाण्डेले भने, हामीले धेरै खर्च गर्न सक्ने ग्राहकलाई यस क्षेत्रमा लग्जरियस होटलको अभाव महसुस गरेर नयाँ बनाउन थालेका हौं । १० देखि १५ करोड लगानी हुने अनुमान गरिएको रिसोर्ट सन् २०१३ को मार्चसम्ममा सञ्चालनमा ल्याउने लक्ष लिएको उनले बताए ।
शान्ति स्थापनापछि पर्यटक आगमन बढेकाले होटल क्षेत्रमा लगानी थपिंदै गरेको संघका अध्यक्ष भट्टराईको भनाइ छ । 'सौराहाका अधिकांश होटल पर्यटकले भरिभराउ छन्,' उनले भने, 'हरेक वर्ष पर्यटकको संख्या थपिंदै गएकाले होटल क्षेत्र लगानीका लागि आकर्षण बन्दै गएको छ ।' यतिखेर सौराहाका होटलको क्षमता २ हजार ३ सय कोठा रहेको उनले जानकारी दिए ।
पुराना होटलहरूमा समेत कोठा थप्ने, रंगरोगन गरेर आकर्षक बनाउने क्रम बढेको छ । 'बनिसकेका होटलमा समेत नदेखिने लगानी बढिरेहेको छ,' संघका अध्यक्ष भट्टराईले भने, 'पर्यटक आकषिर्त गर्न पुराना होटलले आधुनिक शैलीमा निर्माण गरिरहेका छन् ।'
सौराहामा पर्यटक जंगल सफारीका लागि आउने गरेका छन् । यहाँको मुख्य आकर्षण हात्तीमा जढेर जंगली जीवजन्तुको अवलोकन हो । 'यहाँ आउने अधिकांश पर्यटक हात्तीमा चढेर जंगल घुम्न चाहन्छन्, मोनालिसाका सञ्चालक खनालले भने, पछिल्लो समय जिपमा चढेर जंगल घुम्न पाउने सुविधासमेत पर्यटकका लागि थपिएको छ । पर्यटकले हात्तीमा चढेर एक पटकमा १ देखि २ घन्टासम्म जंगलमा जीवजन्तु तथा चराचुरुंगीको अवलोकन गर्न पाउँछन् । जिपमा जंगल जाँदा आधा दिनको २२ किलोमिटर र पूरा दिनको ४५ किलोमिटरसम्म पर जान पाइने सुविधा पर्यटकले पाउन थालेका छन् । जिपमा जंगल सफारी भने वषर्ामा बाटो बिग्रने हुनाले हिउँदमा मात्र उपलब्ध हुन्छ ।
यसबाहेक यस क्षेत्रमा ठूलो राप्ती र सानो राप्तीमा डुंगा सयर पनि हो । दुवै नदीमा ४ किलोमिटरसम्म पर्यटकले बोटिङको आनन्द लिन पाउँछन् । पर्यटकलाई हात्तीसँगै नुहाउने सुविधासमेत पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको संघका अध्यक्ष भट्टराइले
बताए । स्थानीय आदिवासी थारूको संस्कृतिले समेत पर्यटकलाई तानेको मोनालिसाका खनालले जानकारी दिए । यसैअनुसार होटलहरूले थारू जातिको खाना, संस्कृति, रहनसहन, वेशभूषा देखाउन पर्यटकलाई 'भिलेज टुर' गराउन थालेको उनले बताए । अधिकांश होटलले साँझ पर्यटकलाई थारू सांस्कृतिक कार्यक्रम देखाउने गरेका छन् ।
सौराहाको पर्यटकीय सिजन असोजदेखि सुरु हुन्छ । 'यतिखेर सुरु भएको सिजन वैशाखसम्म हुन्छ,' खनालले भने । त्यसपछि साउनमा अझै पर्यटक बढ्छन् । त्यतिखेर युरोपमा लामो बिदा हुने बेला भएकाले शिक्षक, विद्यार्थी धेरै आउने खनालले जानकारी दिए । पछिल्लो समय सौराहाको पर्यटन उद्योगलाई चिनियाँ पर्यटकले ठूलो भरथेग गरेको उनले बताए । 'भोलुममा आउने भएकाले चिनियाँ पर्यटकले ठूलो योगदान दिएका छन्,' उनले भने, त्यसबाहेक नेदरल्यान्ड, बेल्जियम, जर्मनीलगायतका मुलुकका पर्यटक पनि बढ्दै गएका छन् ।


पछिल्लो समय आन्तरिक घुमक्कडसमेत पर्यटकका रूपमा बाक्लै आउन थालेका छन् । आन्तरिक पर्यटकले दसैंमा होटल भरिभराउ भएको मोनालिसाका खनालले बताए । चाडबाड घरमै बसेर मनाउनुभन्दा सपरिवार घुम्न रुचाउने नेपालीको संख्या बढेको छ, उनले भने, यसले सौराहाका होटल व्यवसायीलाई ठूलो राहत दिएको छ ।' 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved