Headlines News :
Home » » काठमाडौं-सिन्धुली सडकमा जिपको भाडा मनपरी

काठमाडौं-सिन्धुली सडकमा जिपको भाडा मनपरी

Written By Unknown on Wednesday, October 31, 2012 | 2:35 AM


काठमाडौ, कार्तिक १५ - सिन्धुलीबाट कमलामाई यातायातको सानो जिपमा काठमाडौं आउँदै गरेकी गीता गौतमलाई चालकले बीच बाटोमा आएपछि थप भाडा मागे । बा१ग ५७८ नम्बरको जिपमा ७ सय रुपैयाँ भाडा तिरेर आउँदै गरेकी उनलाई ३ सय रुपैयाँ नथपे बाटोमै झारिदिने धम्की दिइयो । 'बाध्य भएर थप भाडा दिएँ, उनले भनिन्, नतिरे त्यहीं झारिदिने भयो ।' सँगै आएकी सञ्चारकर्मी भावना गुरुङले १ हजार रुपैयाँको टिकट दिए मात्र भाडा थप्ने अडान लिइन् । 'चालकले टिकट दिनै मानेनन्, उनले भनिन्, मैले टिकट नदिएसम्म भाडा नथप्ने अडान लिएँ ।'
काठमाडौं-सिन्धुली सडकमा अवैध रूपमा सञ्चालन हुँदै आएका साना सवारी साधनले यात्रुसँग यसै गरी ढाड सेक्ने गरेर भाडा असुल्दै आएका छन् । टाटा सुमो, बोलेरो, स्कारपियो जस्ता साना सवारी चलाउने व्यवसायीले दसैंको मुखमा सरकारले तोकेभन्दा साढे ३ गुणा भाडा बढाएर १ हजार रुपैयाँ पुर्‍याएका हुन् । त्यसबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि व्यवसायीले टिकट काट्न छाडेका थिए । उनीहरूले त्यसको साटो टिकट नकाटी मनलाग्दी भाडा असुल्न थालेका हुन् । काठमाडौंको कोटेश्वरबाट सिन्धुलीमाढीको दूरी १ सय ४८ किलोमिटर मात्रै छ । व्यवसायीले हजार रुपैयाँ भाडा पुर्‍याउनुअघि सरकारले तोकेभन्दा झन्डै साढे २ गुणा बढी -७ सय रुपैयाँ) लिंदै आएका थिए । यही रुटमा चल्ने बसले भने ४ सय ५० रुपैयाँ मात्र भाडा लिंदै आएका छन् ।
साना सवारी व्यवसायीले यात्रुसँग अचाक्ली भाडा असुलिरहँदा अनुगमन गर्ने निकाय प्रहरी प्रशासन भने मुकदर्शक बनेको छ । जिल्लाका बासिन्दा भने प्रहरी प्रशासनकै मिलेमतोमा व्यवसायीले यात्रुसँग जबर्जस्ती भाडा असुल्दै आएको बताउँछन् ।
नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति दीपक मिश्रले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षककै जिप सञ्चालनमा रहेकाले यात्रु लुटिने क्रम नरोकिएको बताए । 'प्रहरी प्रशासन प्रमुखकै जिप चल्दारहेछन्, उनले भने, उनीहरूले मनलाग्दी भाडा असुल्दा कसले कारबाही गर्ने ?  
जिपले यात्रुसँग १ हजार रुपैयाँ भाडा असुल्न थालेपछि उपभोक्ता मञ्चले काराबाही गर्न प्रशासनलाई आग्रह गरेको थियो । प्रशासनले आफूहरूको आग्रह नसुनेको मञ्चका अध्यक्ष अच्युतम ढकालले बताए । प्रशासनले हजार रुपैयाँ असुलेको टिकट दिए कारबाही गर्ने बताएको थियो । त्यसपछि मञ्चले प्रहरीको सामुन्ने व्यवसायीले यात्रुसँग हजार रुपैयाँ भाडा लिएको मुचुल्का बनाएर प्रशासनलाई दिएको छ । 'व्यवसायीले अचाक्ली भाडा असुलेको प्रमाण प्रशासनलाई उपलब्ध गराएका छौं, उनले भने, 'अहिलेसम्म कारबाही नभएकाले व्यवसायीले मनलाग्दी असुल्ने क्रम जारी राखेका छन् ।
व्यवसायीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्दा प्रशासनले कारबाही नगरेकामा यात्रुले आक्रोसश पोखेका छन् । 'व्यवसयीले प्रहरी प्रशासनकै मिलेमतोमा तीन गुणा भाडा असुलेका छन्, एक यात्रुले आक्रोश पोखे, यात्रुले न्याय खोज्न कहाँ
 जाने ? प्रशासनले अचाक्ली भाडा असुल्ने व्यवसायीलाई कारबाही गर्न नसकेको स्वीकारेको छ । 'टिकट नकाटी रिजर्भ भनेर लैजान्छन्, सहायक प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले भने, यस्तो अवस्थामा कसरी कारबाही गर्ने भन्ने अन्योल उत्पन्न भएको छ ।' उनले यात्रुसँग व्यवसायीले हजार रुपैयाँ भाडा असुलेको मुचुल्का प्राप्त भएको बताए । 'सिडियोसाब हुनुहुन्न, उनले भने 'उहाँ आएपछि कसरी कारबाही अगाडि बढाउने भन्ने निर्णय हुन्छ ।'  सिन्धुलीमाढीबाट काठमाडौं आवतजावत गर्ने जिपको संख्या ५ दर्जनको हाराहारीमा छ ।
यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराईका अनुसार साना जिपले १ सय ४८ किलोमिटरको दूरीमा १ हजार रुपैयाँ भाडा लिनु अचाक्ली हो । सरकारले जिपका लागि छुट्टै भाडा दर तय गरेको छैन । 'सरकारले तोकेको सार्वजनिक भाडा दरमै सबै सवारी साधन चल्नुपर्छ, उनले भने । विभागले उक्त सडकमा सवारी चलाउन कसैलाई अनुमति दिएको छैन । अनुमति नलिई सवारी चलाउनु अवैध हो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved