Headlines News :
Home » » नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

Written By Unknown on Tuesday, October 30, 2012 | 10:31 AM


गोन्जाउ (चीन)-, कार्तिक १४ - नेपालले एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी एसिया कपमा सोमबार लगातार तेस्रो हार बेहोरेको छ । नेपालमाथि आयोजक चीनले ४७ रनको अप्रत्याशित जित निकाल्यो ।
समूह चरणमा टेस्ट राष्ट्र श्रीलंका र बंगलादेशसँग दुवै खेल गुमाएका नेपाल र चीन समूह चरणको अन्तिम खेलमा प्रतिष्ठाका लागि भिडेका थिए । तर चीन नेपालभन्दा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा अघि रह्यो ।
गोन्जाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपालले चीनलाई ब्याटिङको निम्तो दियो । चिनियाँ खेलाडीले पहिलो ओभरदेखि नै आक्रामक ब्याटिङ गर्दै नेपाली बलरलाई निरीह तुल्याए ।
ओपनर झाङ मिले नटआउट ४४ रनको योगदान गरेपछि चीनले २ विकेट क्षतिमा ९२ रनको योगफल तयार पार्‍यो । खेलको पाँचौं ओभरमा मिको क्याच सोनु खड्काले 'ड्रप' गरेकी थिइन् । नेपाली खेलाडीको कमजोर फिल्डिङको फाइदा उठाउँदै चिनियाँ खेलाडीले सजिलै रन बटुलेका थिए ।
कमजोर शट चयन र रन लिँदा दुई ब्याट्सवुमेन्स बीचको कमजोर तालमेलका कारण नेपाल १९ ओभरमा ४५ रनमै समेटियो । शोभा आले टिमले १५ रन जोड्दा रनआउट भएपछि नेपालको लक्ष्य पूरा गर्ने अभियानमा झड्का लागेको थियो । अझ एक रन थप्दा सातौं ओभरमा सीता रानामगर र सरिता मगर पनि रनआउट भएपछि नेपाल दबाबमा देखिएको थियो । नेपाली खेलाडीले सजिलै विकेट गुमाउँदा चीनलाई सहज भयो । नेपालका पाँच खेलाडी रनआउट भए ।
'प्रतियोगितामा ब्याटिङ हाम्रो चिन्ताको विषय थियो । तर चीनविरुद्ध हामी बलिङमा पनि चुक्यौं,' कप्तान रुविना क्षेत्रीले भनिन्, 'चीन तीनवटै क्षेत्रमा बलियो देखियो ।' उनले प्रतियोगिताअघि प्रशिक्षण अवधि छोटो भएको र राम्रो गर्नका लागि अभ्यासमा जोड दिनुपर्ने धारणा राखिन् ।
सीताले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सवुमेन्सले दोहोरो अंक बटुल्न सकेनन् । सोनुले नेपालका लागि एकमात्र चौका प्रहार गरेकी थिइन् । रुविना र नीरा राजोपाध्यायले चीनका दुई ब्याट्सवुमेन्सलाई आउट गरेका थिए ।
प्रशिक्षक सामसनजंग थापाले ब्याटिङ र बलिङ दुवै पक्ष खराब रहेको बताए । 'पछिल्ला वर्ष क्रिकेटमा चीनले धेरै प्रगति गरिसकेको छ, पहिला पाँच ओभरपछि चीनले हामीमाथि दबाब सिर्जना गर्‍यो,' उनले भने । चीनसँगको हारपछि नेपाल समूह 'बी' को पुछारमा रह्यो । प्रतियोगिताको सेमिफाइनलमा श्रीलंका र भारत तथा पाकिस्तान र बंगलादेश मंगलबार भिड्दै छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved