Headlines News :
Home » » गर्भवती महिलाका लागि तीस टिप्स

गर्भवती महिलाका लागि तीस टिप्स

Written By Unknown on Tuesday, October 30, 2012 | 3:32 AM

१.नियमित रूपमा -प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म यौन सम्पर्क गरे गर्भ रहन सक्छ।
२.गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ, छै
न ? छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले शिशु पाउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
३. कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, शिशु पाउन गाह्रो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ।
४.गर्भाधानका क्रममा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ।
५.छोरा वा छोरी कसरी ? लोग्ने मानिसको क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ। त्यसैले लोग्ने मानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ।
६.गर्भ रहेका चिन्हहरू विभिन्न हुने भए पनि नियमित रूपमा भैरहने महिनावारी रोकिनु गर्भ रहेको शंका गर्ने मुख्य आधार हो।
७.गर्भ रहेको निश्चित गर्ने तरिका विभिन्न -पिसाब जाँच, योनिद्वारबाट आन्तरिक परीक्षण) भए पनि अल्ट्रासाउन्ड -भिडियो एक्सरे) को आफ्नै महत्व छ।
८.आर्थिक विपन्नता वा सेवाको अभावले पटक-पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक समस्या छ-छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ।
९.मानिसको ४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिएको छ। प्रत्येक त्रैमासिकअनुसार गर्भवतीका चिन्ह पनि फरक-फरक हुन्छन्।
१०.नियमित रूपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ। यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु पाउँछन् भने अधिकांश -करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउँछन्।
११.गर्भावस्थाको करिब १८ हप्तापछि शिशु चलेको महसुस हुन्छ। गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने -पुट्ठाको हड्डी भित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ।
१२.गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरू -तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि) देखा पर्न सक्छन्।
१३.विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चार पटक जाँच गराउनुपर्छ। यस क्रममा स्वास्थ्य परीक्षणका अतिरिक्त खोप, स्वास्थ्य शिक्षा, पोषण शिक्षा पनि प्राप्त हुन्छ।
१४.पहिलो पटकको गर्भ जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करिब ६ हप्ताको वरिपरि गराउनुपर्छ।
१५.प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग -भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनुपर्छ। यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ।
१६.पहिलो गर्भावस्थामा दुईपटक टी टी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ। यसका साथै शक्ति प्राप्त हुने थप कार्बाेहाइड्रे्रट तथा प्रोटिनयुक्त खाना खानुपर्छ।
१७.नियमित जाँच गर्नुको उद्देश्य गर्भावस्था, सुत्केरी बेथा लाग्दा तथा सुत्केरी बेथापछि आमा र नवजात शिशुको पूर्ण स्वस्थता हो।
१८ जाँचमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जाँच्नुपर्छ।
१९. मधुमेह, उच्चरक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको शिशु सानो शंका गरिएकी, जुम्ल्याहा शिशु बोकेकी, पहिले पटक-पटक गर्भ तुहिएकी गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ।
२०.गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ। गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डीमुनिसम्म पाठेघरको -पेट) को उचाइ बढ्छ।
२१.गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अङ्गहरू तथा स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ। गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार -मुख) को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङ्गहरू फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन्।
२२.विशेष गरी गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अङ्ग निर्माण हुने भएकाले अनावश्यक रूपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मिन सक्छन्।
२३.गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरूमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो-छिटो लाग्ने, योनिस्राव -सेतो पानी) अलि बढी बग्ने, पिँडौला एवं जननेन्दि्रय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिँडौला बाउँडिने हुन्।
२४. गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिँदैन।
२५.करिब २० प्रतिशत गर्भवती महिलालाई सिजेरियन आवश्यक परे पनि ८० देखि प्रतिशतमा भने राम्रै र सुरक्षित तवरले सुत्केरी गराउन सकिन्छ।
२६.शिशुको टाउको बाङ्गिनु, शिशु उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र शिशुको बसाइ परिवर्तन भैरहनु वा अस्थिर रहनु, शिशुको मुख वा निधार पहिले बाहिर आउन खोज्नु, शिशुको मुख आमाका ढाडतिर फर्केर रहनुपर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी बेथाका बेला असामान्य परिस्थिति हुन्।
२७.जुम्ल्याहा शिशु हुँदा, गर्भवती महिलाको उमेर बढी -३५ वर्ष भन्दा माथि) हुँदा, पटक-पटक गर्भ खेर जाँदा, गर्भावस्था लम्बिँदा, रक्तसमूह नेगेटिभ हुँदा अतिरिक्त हेरचाह पुर्‍याउनुपर्छ।
२८.सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता -२८० दिन) को हुन्छ। गर्भ ४२ हप्ता -२९४ दिन) भन्दा पछाडि गयो भने राम्रो मानिँदैन। औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ।
२९.उच्चरक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थिको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षय रोग, दम, संक्रामक तथा परजीवीजन्य रोग, औलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासँगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन्।
३०.पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने -सानो सूतक हुने), महिना नपुग्दै बेथा लाग्ने आदि गर्भावस्थामा आइपर्ने केही विशेष समस्या हुन्।
 —
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved