Headlines News :
Home » » श्रीमतीको ठूलो भक्त हुन चाहन्छु"

श्रीमतीको ठूलो भक्त हुन चाहन्छु"

Written By Unknown on Thursday, November 1, 2012 | 5:00 AM

राजेशपायल राई बढी चल्तीफिर्ती गायक हुन् । फिल्मी गायन, कन्सर्टमा अचेल उनको जोडा पाउन हम्मे छ । संगीतकै कमाइले उनले काठमाडौंको शान्तिनगरमा घर जोडे, तर त्यहाँ उनी कमै भेटिन्छन् । सांगीतिक कार्यक्रम क्रममा वर्षका धेरै महिना घरबाहिरै हुन्छन्, कहिले देशकै विभिन्न भागमा त कहिले विदेशमा । कमाइको केही अंश समाजसेवामा पनि लगाउँछन् । तीस वर्ष उहिल्यै कटेका तर चालीस वर्ष पुगिनसकेका गायक अहिलेसम्म अविवाहितै छन् ।
तपाईं नेपालकै सुयोग्य ब्याचलरमध्ये पर्नुहुन्छ । यसपालिको मंसिर चाहिँ नकट्ला कि ?
यसपालिको मंसिर पनि काट्ने निश्चित भइसक्यो । कन्सर्टको लागि नोभेम्बर ४ तारिख विदेश जाँदै छु । केही महिना उतै हुन्छु । यस्तो कुदाकुदमा बिहे गरें भने वाइफलाई समय दिन सक्दिनँ । उनको एक्सपेक्टेसन पूरा नगर्न पनि सक्छु । अर्को कुरा, केटी भेटेको पनि छैन । जातपात, धनीगरिब भन्ने कुनै सर्त राखेर यस्तो भएको होइन । बिहे गर्नजत्तिको अप्ठ्यारो चीज केही हुन्न रैछ । मैले नाम कमाएँ, दाम कमाएँ, देशविदेश घुमें, तर केटी खोज्ने काम चाहिँ सबभन्दा गार्‍हो हुने रैछ ।
धेरै सुन्दरीलाई वचन दिँदै हिँडेकाले पो त्यस्तो भएको हो कि ?
धोका हुने किसिमले अहिलेसम्म कसैलाई वचन दिएको छैन । यद्यपि कहिले कसैलाई ख्यालठट्टामा लौ है भनिएको हुन सक्छ । त्यस्तो कुरालाई कसैले सिरियस्ली लिइरहेको भए त्यो मेरो गल्ती हैन । राम्री, सुशील केटी पाइयोस् भन्ने कल्पनाचाहिँ मनमा कहिलेकाहीँ आउँछ । तर हन्डे्रड पर्सेन्ट कोही पनि हुन्न । राजेशपायलले ऐश्वर्या राय जस्तै खोजेको पनि हैन । नेपालमै पाइनेमध्ये राम्री त हुनैपर्छ । तर त्यस्तै पनि पाइएको छैन ।
बुवाआमाले खोज्नुभएको होला नि ?
बुवाममी दसैं मान्न र मेरो बिहे गराउन यूकेदेखि आउनुभएको छ । मैले बुझेअनुसार उहाँहरूले केटी खोज्नुभएको छैन । दुई महिनाभित्र मेरो बिहे गराएरै छाड्ने उहाँहरूको सुर रैछ । तर त्यसमा मेरो असहमति रह्यो । गर्लफ्रेन्ड नभएकाले केटी खोज्न कम्तीमा एक महिना लाग्ने, मेरो कामको क्षेत्रअनुसार बिहे ठूलो हुने आदि कुरा बताएपछि हार खाएर उहाँहरू खोटाङ घर जानुभएको छ । काठमाडौं फर्किंदा म युरोपतिर उडिसकेको हुनेछु । हामीले के भुल्नु हुन्न भने, गीत त बिगि्रयो भने रिटेक गर्न पनि सक्छौं, तर बिहेमा रिटेकको चान्स हुँदैन । ढिलो भयो भन्दैमा आँखा चिम्लेर बिहे गर्ने कुरा आउँदैन ।
तपाईंले बिहे नगरिदिएर संगीतकार भाइ राई नवीनको बाटो छेकिएन ?
कतिले मलाई भन्छन्- अगाडि बाटोबीचमा थोत्रो ट्रक राख्यो, पछाडिको गाडी जान दिएन । तिनीहरूलाई भन्ने गरेको छु- मैले धेरै भार बोकिरहेको छु, यसो साइडबाट गए हुन्छ । दाजुले बिहे नगरी भाइले गर्न नहुने हाम्रो नेपाली संस्कार त छ, तर अचेल धेरैले त्यो चलन मिच्दै आएका छन् । मैले राई नवीनलाई तिमीले बिहे गरे हुन्छ भन्दै आएको छु । बिहेमा उनले त्यति चासो दिए जस्तो लागेको छैन । बुवाममीले अर्को वर्ष दाजुभाइकै एकैचोटि गरिदिने पनि भन्नुभएको छ ।
गायिका र नायिकामा रोज्नुपर्‍यो भने कसलाई प्राथमिकता दिनुहुन्छ ?
त्यति सारो च्वाइस गर्न सक्ने भए मेरो बिहे भइसक्थ्यो । तैपनि रोज्नुपर्दा आफ्नो फिल्ड मिल्ने भएकोले गायिकासँग बिहे गर्छु । गायिकासँग बिहे गर्न पाए उनले रियाजको लागि बिहान चाँडै उठाइदिने थिइन् ।
आफूले मन खाएकी सुन्दरीले भाइटीकाको निम्तो दिएकी छन् कि छैनन् ?
खै हौ, भाइटीकाको दिन केटीहरू मेरो छेउ पर्नबाट भाग्ने पो गरेका छन् ।
तपाईंको बिहे कहिलेसम्म होला त ?
तीन वर्षभित्र पक्कै हुन्छ । अहिलेको कन्सर्ट सेडयुल हेर्दा त्यतिन्जेल म व्यस्त हुन्छु । 'दर्शन २' एल्बम पनि निकाल्नु छ । गीत फलानो दिन रेकर्ड गर्ने भने जस्तो बिहेको मिति ठयाक्कै तोक्न नसकिने रैछ, के गर्नु अब ? तर म अविवाहितै भएर बस्न सक्दिनँ ।
भविष्यकी श्रीमतीले तपाईंको यो हेयर स्टाइल मन पराइनन् भने ?
मैले यो भन्दा फयानहरू झन् बढ्लान्, तर सत्य के हो भने, म श्रीमतीको अत्यन्त ठूलो भक्त हुन चाहन्छु । उनले चाहिनन् भने म यो कपाल काटिदिन्छु । किनभने, बिहे गरिसकेपछि आफ्नो लोग्नेमा श्रीमतीको फिफ्टी पर्सेन्ट अधिकार हुन्छ ।
शरीरमा कताकता लगाएका मुन्द्रा पनि निकाल्नुहुन्छ ?
धेरैजसो त निकालिसकेको छु । बुवाममी यता आउनुभन्दाअघि म यूके गएको थिएँ । बुवाले ओठको मुन्द्रालाई संकेत गर्दै 'छोरा, तिमीप्रति हामीले पनि गर्व गर्नुपर्‍यो, तिम्रो स्टाइल तिम्रो उमेर अनुसारको छैन, हामीलाई पचिरहेको छैन' भन्नुभयो । मेरा श्रोता बुवाको उमेरका पनि छन्, मुन्द्रा बुवालाई मन नपरेको भए उनीहरूलाई पनि मन नपरेका होलान् भनेर नेपाल आएपछि ओठ र कानका मुन्द्रा अनि केही टप झिकिदिएँ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved