Headlines News :
Home » » अब नयाँ अन्तर्राष्ट्रिय उडान ढाँचामा

अब नयाँ अन्तर्राष्ट्रिय उडान ढाँचामा

Written By Unknown on Thursday, November 1, 2012 | 5:05 AM


काठमाडौ, कार्तिक १६ - नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेको मितिभन्दा ३ दिनअघि नयाँ अन्तर्राष्ट्रिय उडान ढाँचा आवलम्बन गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आफू तयार भएको जनाएको हो ।
आइकाओले अन्तर्राष्ट्रिय उडान सुरक्षित र व्यवस्थित बनाउन नयाँ उडान ढाँचा तयार गरेको छ । त्यसअनुसार कात्तिक ३० देखि विश्वभरका हरेक राष्ट्रले अनिवार्य रूपमा नयाँ ढाँचामा अन्तर्राष्ट्रिय योजना बनाएर उडान गर्नुपर्छ ।
आइकाओले हरेक देशका नागरिक उड्डयन प्राधिकरणलाई ४ वर्षअघि सर्कुलर जारी गरेको थियो । सर्कुलरअनुसार हवाई सेवालाई नयाँ ढाँचाअनुसार उडान गर्न हरेक देशका उड्डयन प्राधिकरणले गत जेठ १९ देखि परीक्षण उडान गरिरहेका छन् ।
'एसिया प्यासिफिक क्षेत्रमा भने आइकाओले तोकेको भन्दा ३ दिनअघि नयाँ उडान ढाँचाअनुसार योजना बनाई उडान भर्ने निर्णय भएको छ,' प्राधिकरणका उपनिर्देशक हंशराज पाण्डेले भने, 'हामी पनि ३ दिनअघि नयाँ ढाँचाअनुरूप उडान भर्दै छौं ।' आइकाओको बाध्यकारी प्रावधानअनुरूप कात्तिक ३० देखि नयाँ ढाँचामा योजना नबनाई उडान गर्ने देशको अन्तर्राष्ट्रिय हवाई सेवा नराम्ररी प्रभावित हुने छ । त्यसका लागि प्राधिकरण पूर्ण रूपमा तयार भएको उनले जानकारी दिए ।
नयाँ योजनामा अन्तर्राष्ट्रिय उडान भर्ने सुरु र अन्तिम बिन्दु, उडान समय, किसिम, यात्रु संख्या, जहाज र पाइलटबारे जानकारीलगायत सूचना विस्तृत रूपमा राखिएको हुनुपर्छ । हरेक विमान कम्पनीले आइकाओले बनाएको ढाँचामा फारम भरी उडान योजना बनाउनुपर्छ र नागरिक उड्डयन प्राधिकरणमा कम्तिमा २४ घन्टा अगाडि बुझाउनुपर्छ ।
प्राधिकरणले ती सूचना एरोनटिकल फिक्स्ड टेलिकम्युनिकेसन नेटवर्क (एएफटीएन) मा राख्छ । त्यहाँबाट सम्बन्धित क्षेत्रका हरेक देशले कुन देशबाट कुन प्रकारको जहाज कति यात्रु बोकेर कुन समयमा कहाँ उडान भर्दै छ भन्ने जानकारी प्राप्त गर्छ ।
'यस्तो जानकारी एअर ट्राफिक व्यवस्थापन र विमानस्थलमा विमानका लागि ठाउँ व्यवस्थापन गर्न सजिलो हुन्छ,' पाण्डेले भने, 'यसले हवाई सेवा चुस्त बनाउन सहयोग पुग्छ ।' आइकाओले नयाँ ढाँचाअनुसार अन्तर्राष्ट्रिय हवाई सेवा व्यवस्थित गर्न महादेशका आधारमा विश्वभर ७ क्षेत्र तय गरेको छ ।
अन्तरमहादेशीय उडान व्यवस्थान भने हरेक क्षेत्रस्थित आइकाओको क्षेत्रीय कार्यालयले गर्ने छ । एसिया प्यासिफिक क्षेत्रको आइकाओ क्षेत्रीय कार्यालय बैंककमा छ ।
हाल कायम ढाँचाअनुसार अन्तर्राष्ट्रिय उडान गर्दा विमान सेवा प्रदायक कम्पनीले २४ घन्टाअघि आफ्नो देशको प्राधिकरणलाई उडान योजना बुझाउनुपर्छ । तर नयाँ ढाँचामा गएपछि विमान सेवा प्रदायकले ५ दिनअघि उडान तालिका बुझाउन सक्ने छन् ।

यसबाट सम्बन्धित कम्पनीका लागि अन्तर्राष्ट्रिय उडान सहज बन्ने छ । '५ दिनअघि उडान योजना बुझाउन र एएफटीएनमार्फत त्यसको जानकारी पाइने भएकाले विमान कम्पनीलाई आफ्नो चार्टर उडान योजना बनाउन सजिलो हुन्छ,' पाण्डेले भने, 'त्यस बाहेक विस्तृत सूचना समावेश हुने भएकाले सुरक्षा, प्राविधिक अधुनिकीकरण, चुस्त सेवा र वातावरणीय हिसाबले पनि नयाँ उडान ढाँचा महत्त्वपूर्ण छ ।'
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved