Headlines News :
Home » » नभनिएका कथा

नभनिएका कथा

Written By Unknown on Saturday, November 10, 2012 | 12:01 AM


निशा के.सी
“अंकल भरे आउँदा मलाई हिजोजस्तै चकलेट अनि चुइगम ल्याइदिनु है !” सानीले फुलबुटे फ्रक हल्लाउँदै बालसुलभ भावमा भनी ।
ढोकामा ताल्चा मारिसकेपछि मोहन अंकल सानीको छेउमा पुगे । सानीको कपाल स्नेहले सुमसुम्याउँदै भने, “ल ! ल ! हुन्छ ! खोइ त अंकललाई पप्पी ?” दुबै आँखा चिम्लिएर अंकल भुईंमा टुक्रुक्क बसे । सानीले हत्तनपत्त आफ्नो ओठ मोहन अंकलको गालामा जोडेर च्वाक्क गरी । अनि टेरिवेयर च्यापेर खेल्न दौडिई ।
मोहन अंकल बिस्तारै उठे । सानीको निश्छल पप्पीलाई मनमनै अनुभूत गरे । र, लामालामा पाइला बढाउँदै लागे कलेजतर्फ ।
सानीलाई काठमाडौंको बोडिङमा पढाउने रहरले एक महिनाअघि मात्र आफ्नो पहाड घर खोटाङबाट लिएर आएका थिए, सानीका बाबाले । काठमाडौंमा कोठा खोज्दाखोज्दा वाक्कै भएपछि जे पर्लापर्ला भनी धोबीघाटमा ससानो भुईतले घर भाडामा लिई बसेका थिए ।
अग्लो पर्खालले घेरिएको सानो आंगनमा पखेटा काटिएकी चरीझैं सानी एक्लै टोलाइरहन्थी । भरखर गाउँबाट आएकी उसका गाउँमा जस्तो साथीहरु थिएनन् । खुल्ला आकास मुनि खेल्ने चौरहरु थिएनन् । आमाको त्यो मायालु काख थिएन, जुन काखको सिरानीमा ऊ भुसुक्क पिंढीमै निदाउँथी ।
नियास्रिएका सानीका अनुहार र बटारिएका परेलीलाई सुम्सुम्याउँदै सानीका बाबा द्रविभूत बन्थे ।
“गेट बाहिर ननिस्कनु है सानु ! भोक लाग्यो भने बिस्कुट खानु ल !” गेटसम्म पच्छयाइरहेकी सानीलाई लक्ष्मणरेखाको बोध गराउँदै गरुङ्गो पाइला बढाउथे कलेजतर्फ । स्विकारोक्तिमा टाउको हल्लाउँथी सानी । र, झोलुङ्गेपुलबाट ओझेल नपरुन्जेलसम्म टिठलाग्दो आँखाले हेरिरहन्थी बाबालाई । उसका मुक आँखाले प्रश्न गरिरहन्थे बाबासँग, आमा कहिले आइपुग्नु हुन्छ ?
सानीलाई सुनसान एकलासे घरमा एक्लै छोडी क्याम्पस जान उनको मनले पनि मान्दैनथ्यो । परिस्थितिले गर्दा उनी विवश थिए । स्कुल भर्ना हुनुअघि दिनुपर्ने प्रवेश परीक्षाले गर्दा सानीकी आमालाई घरको चाँजोपाँजो मिलाएर जतिसक्दो छिटो आउन भनी अपरझटमा सानीलाई लिएर आएका थिए ।
कीर्तिपुर विश्वविद्यालय नजिकैपर्ने धोबीघाटको डेरामा सानी एक्लै टोलाएर यताउती गर्थी । उसको स्कुल सुरु हुन अझै केही दिन बाँकी नै थियो । यसै बीचमा मोहन सर पनि विश्वविद्यालय पायकपर्ने कोठा खोज्दै रहेछन् । सानीका बाबालाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । अनावश्यक कोठा राखिछाड्नुभन्दा साथीलाई भाडामा दिए आर्थिक भार पनि केही कम हुने र मान्छेको चहलपहलले सानीको न्यास्रो पनि मेटिने सोची आफूले दुइटा कोठा र एउटा भान्छा लिएर दुइटा कोठा मोहन सरलाई भाडामा दिए ।
पहिलोपटक मोहन अंकललाई देख्दा सानी निकै डराएकी थिई । मोटो, अग्लो उचाइ, कालो रङ, बल्ढेङ्ग्रे आँखा र लत्रेका भद्दा ओठ ! देख्दै भयङ्कर डरलाग्दो ! आफ्नै भान्छामा खाना खाइरहेका बेलामा बाबाको छेको परेर उसले मोहन अंकल र उनका भाइ केशव अंकललाई पालैपालो नियालेकी थिई । कम बोल्ने, बोल्दा मुसुमुसु हाँस्ने केशव अंकल उसलाई आफ्नै काकाजस्तै लागेको थियो । मोहन अंकल भने प्याकुलीको घरको कालो गोरुजस्तै ! त्यो गोरुसँग ऊ मात्र नभई गाउँका सबै केटाकेटी डराउँथे । नडराउन् पनि किन ? त्यस गोरुले एकपटक प्याकुलीको दाजुलाई नै हानेको थियो । धन्य आँखा जोगिएछ । गाला मुनिको नीलडाम देखेर गाउँलेहरु जिब्रो टोक्थे ।
“कत्ति प्यारी छोरी रहिछ दवाडीजी, तपाईँको ! चकलेट सकलेट केही लिएर आइएन । कत्ति वर्षकी भई ?” मुख चुठेर तौलियाले पुछदै मोहन अंकलले सोधे ।
“भोलिदेखि आठ पुरा भएर नांै लाग्छे ।” मिति र गते जोड्दै सानीका बाबाले भने ।
“मेरो छोरी पनि त यत्रै त छे । चालीस वर्षमा जन्मिएकी !” मुसुक्क हाँस्दै मोहन अंकलले भने ।
उनीहरु निकै अबेरसम्म कुराकानी गर्दै रहे । सानीलाई निद्रा लागेको हुँदा ऊ पलङको भित्तापट्टी फर्केर भुसुक्कै निदाई । त्यस रात सानीले सपनामा मोहन अंकललाई देखी । थुप्रै थुप्रै चुइगम, चकलेट सानीको पोल्टाभरी हालिदिएर मायाँले सानीको कपाल सुम्सुम्याउँदैं गरेको । त्यति धेरै चकलेट र चुइगम पाएर ऊ सपनामा खुशी भएकी थिई ।
भोलिपल्टको साँझ, सपनाभन्दा पनि बढी खुशी र रमाइलो लाग्यो सानीलाई । मोहन अंकल र केशव अंकलले सेतो रङको सुन्दर टेडिवेयर र डेरी मिल्क उपहार दिएका थिए । उसको जन्मदिनको खुशीयालीमा ।
त्यस साँझदेखि सानीको मोहन अंकलसँगको डर हराउन पुग्यो । मोहन अंकलले गरेको माया, आफन्तीय व्यवहार र घरमा पस्दा सानी ! सानी ! भन्दै बोलाउँदै छिर्ने बानीले गर्दा सानी मोहन अंकलसँग केशव अंकलसँगभन्दा बढी घुलमिल भएकी थिई । त्यसैले त ऊ निसंकोच मोहन अंकलसँग चुइगम, चकलेटको माग गर्न थालेकी थिई ।
त्यस दिन मोहन अंकल छिट्टै घर फर्किए । झोलुङ्गे पुलमा आउँदै गरेका अंकललाई टाढैबाट देखी सानीले । खेल्दै गरेको टेडिवेयर च्यापेर अंकलको औला समाउन पुगी । उनी पनि सानीलाई डोर्याउँदै कोठा भित्र छिरे । लुगा नै नफेरी ओच्छयानमा पल्टिए ।
भाइलाई विश्वविद्यालयमा डिग्री गर्ने र प्राइवेट कलेजमा पार्टटाइम पढाउने प्रबन्ध मिलाएर आफू इलामतिरै र्फकने मनसुवा बनाएका मोहन सर जतिसक्दो छिटो इलाम क्याम्पसमै सरुवा मिलाउने ताकमा दिनहुँजसो डिन कार्यालय पनि धाउने गर्थे । छ महिना भइसकेको थियो उनको परिवारसँग भेट नभएको । धनकुटाबाट काठमाडौं सरुवा भएपछि, श्रीमती, छोरा र सानी जत्रै छोरीलाई घर पुरयाएर भाइ केशवलाई लिएर उनी काठमाण्डौं आएका थिए । त्यस दिन पनि डिन कार्यालय पुगेर उनी निरास भएर फर्किएका थिए ।
ढोका छेउको मेचमा बसेर सानी आशाभरी नजरले अंकललाई टुलुटुलु हेरिरही । उसका आँखाले अंकलको खल्तीमा रहेको चकलेट र चुइगमको खोजी गरिरहेका थिए । सधैंसधैं त घर भित्र छिर्नेबित्तिकै सानी सानी भन्दै चकलेट र चुइगम दिने गर्थे । तर आज किन नदिएको होला ? ऊ निरास भएर फर्किनै आँटेकी थिई ।
मोहन अंकलले भने, “सानी चकलेट नखाने ?”
सानीको अनुहारमा खुशीका रङ फेरिए । उसले खुशी हुँदै सोधी, “खै त ?”
“आऊ, यहाँ नजिकै अंकलसँग आएर बस । अंकललाई मायाँ गर । खै त ? तिमीले अंकललाई मायाँ गरेकी ? तिमीलाई अंकलको माया लाग्दैन ?” अलिकति भित्तापट्टी सर्दै अंकलले भने ।
“लाग्छ ।” सानी अंकलको नजिकै गई । सधैंका झैं माया गरी । मुलायम टेडिवेयर सुम्सुयाउँदै अंकलको अनुहार टुलुटुलु हेरिरही । दुई दिनदेखि नखौरिएर छुस्सछुस्स निस्किएका तीलचामले दाह्री कालो अनुहारमा तीखा काँडा बनेर टल्किएका थिए । लत्रिएका मोटा सुष्क ओठ, सरुवा मिलाउन डिन कार्यालय धाउँदा र पिरियडैपिच्छे चर्को आवाजमा चिच्याउँदाचिच्याउँदा कलेटी परेर नीला भएका थिए ।
सानै भए पनि उसले अंकलको त्यो अवश्थाको निरीक्षण गरी । त्यसरी उदास र दुःखी भएको अंकललाई देखेर उसको मन विदिर्ण भएर आयो ।
निकैबेरसम्म अंकल केही नबोलेपछि उसले मायालु आवाजमा सोधी, “अंकललाई सन्चो छैन हो ?”
राताराता अर्धमुदित आँखाबाट सानीतिर अलिकति चिहाउँदै अंकलले भने, “हो ! एकदम टाउको दुखेको छ । अंकलको टाउको थिचिदेऊ न, हुन्छ ?”
सानीले स्वीकारोक्तिमा टाउको हल्लाई । गाउँमा आमालाई टाउको दुखेर पच्छ्यौरीले टनटनी बाधेर आमा छट्पटिएको बेला उसले धेरैपटक आमाको टाउको थिचिदिएकी थिई । यो बेला पनि उसको मन उड्दैउड्दै उही खोटाङमा पुग्यो, जहाँ ऊ चरीझैं रम्ने गर्थी । साथीहरुसँग वनका काफल र ऐंसेलु टिपेर खाने गर्थी । परालका कुन्युमा आसपास खेल्दै लुक्ने गर्थी ।
सानीले एक नजर आफूले बोकेकी टेडिवेयरतर्फ फाली । बोल्दै नबोल्ने निर्जिव टेडिवेयर मात्र अब उसको साथी थियो ।
सानीले टेडिवेयर पलङको छेउमा थपक्क राखी । र, कलिला हत्केलाले बिस्तारै थिच्न थाली अंकलको टाउको । अंकल आँखा चिम्म चिम्लिएर लामोलामो श्वास फेरिरहेका थिए ।
अलि एक्लो परेको घर । दिउँसोको समय भए पनि उतिसारो हल्लाखल्ला सुनिंदैन थियो । घामले तातेर बाग्मती नदी ढल मिसिएको गन्ध लिएर एकनाससँग बगिरहेको थियो । सानीलाई उकुसमुकुस भएर आयो । भकुन्डो जत्रो टाउको थिच्दाथिच्दा उसका कलिला हत्केला गलेर लखतरान भइसकेका थिए । थकित आवाजमा उसले सोधी, “भयो अंकल ?”
अंकल गहिरो निद्राबाट ब्युझिएजस्ता भए, “अँ ! भयो ! भयो ! कत्ति सन्चो भयो मेरी प्यारी सानी ।” भन्दै सानीलाई अँगालोमा बेरेर म्वाई खाए ।
सानीलाई अंकलको आजको म्वाइ अरु दिनको भन्दा बेग्लै लाग्यो । अंकलको अँगालोबाट फुत्किने प्रयास गर्दै भनी, “छ्या कस्तो गन्हाएको खोला ! अंकललाई गन्हाएको छैन ?”
“हो त कस्तो गन्हाएको नि !” अंकलले झयाल ढोका बन्द गरेर सारिएको पर्दालाई टम्म मिलाए । पर्दा लगाएपछिको मधुरो उज्यालोमा सानी असमन्जस्यमा परेर पलङमा बसिरही । दिउँसोको घामले तातेर खोला गन्हाउँदा उसको बाबाले पनि झयाल ढोका बन्द गर्ने गर्नुहुन्थ्यो । तर पर्दा भने लगाउनु हुन्न थियो ।
तर अंकलले किन पर्दा लगाए ! उसले बुझ्न सकिन । उसलाई कताकता त्यो अँध्यारो कोठासँग डर लाग्यो । उसले अंकलको अनुहारमा पुलुक्क हेरी । राताराता धर्सा भरिएका आँखा लोलाउँदै अंकलले भने, “चकलेट नखाने ?”
सानीले प्रश्नसूचकभावमा अंकलको अनुहारमा हेरी । सानीसँगै टाँसिएर बस्दै अंकलले सानीको हात च्याप्प समातेर पाइन्टको गोजीमा घुसारे ।
गोजीको भित्रीले ढाकिएको अनौठो वस्तुसँग सानीको हातले स्पर्श गर्यो । सानीले छामेर हेरी । तर त्यो चकलेट थिएन ।
“अंकल यहाँ त चकलेट छैन ।” सानीले रित्तो हात गोजीबाट निकाल्दै भनी ।
अंकल हाँसे । “तिमीले देखिनौ ? यो के त ?” उनको इसारा खुलेको पाइन्ट चेनतर्फ थियो । सानीले विश्मयभावले अंकलको अनुहारमा हेरी । प्याकुल्लीको कालो गोरुको भन्दा पनि मानवको भयानक दानव स्वरुप देखेर सानीको सातोपुत्लो उड्यो । डरले थरथरी काम्दै हठात् आफनो हात अंकलको हातबाट छुटाउँदै टेडिवेयर टिपेर ऊ पलङबाट र्झन खोजी ।
अंकल छुट्टै दुनियाँमा प्रवेश गरिसकेका थिए । उनको स्वास उनको नियन्त्रणमा थिएन । सही र गलत छुटयाउन सक्ने उनको विवेकशून्य भइसकेको थियो । उनले सानीलाई बाघले झम्टेझैं झम्टे ! बलिष्ट पन्जाले सानीलाई च्यापे । भोको बाघले भेट्टाएको सिकारझैं सानीलाई उफार्दै थचार्दै आफ्ना वलिष्ठ दाह्रा गाड्नै आँटेका थिए ।
त्यसैबेला कसैले ढोकामा ढक्ढक् गरेको आवाजले उनी झस्किए । हत्त न पत्त पेन्टको चेन बन्द गर्दै उनले सानीलाई चुप रहने संकेत दिए । डर र पीडाले लुगलुग काम्दै सानी रुन थाली ।
ढोकामा लगातार ढक्ढक्को आवाज आइरहेको थियो । मोहन अंकलले खुम्चिएको तन्ना तन्याक तुनुक पारे । पर्दा उघारे । आफूलाई सामान्य बनाउने कोशिस गर्दै ढोका खोले ।
“के भयो सानी ? किन रोएकी ?” कोठाभित्र छिर्दै केशव अंकलले सोधे ।
“आज चकलेट ल्याउन बिर्सिएँछु त्यसैले रोएकी । कत्ति फकाइसकेँ मान्दै मान्दिन ।” मोहन अंकलले नजर झुकाएर भने ।
“सधैं चकलेट चुइगम दिएर केटाकेटीको बानी बिगार्न हुन्न भनेर त पहिल्यै भनेको थिएँ नि ।” भताभुतुङ्ग भएको सानीको कपाल र भुईंमा लडिरहेको टेडिवेयरलाई पालैपालो नियाल्दै केशव अंकलले भने ।
सुँक्कसुँक्क गर्दै सानी पलङबाट ओर्लिई ।
“सानी लेऊ तिम्रो टेडिवेयर ।” केशवले भुईंबाट टेडिवेयर उठाएर सानीलाई दिंदै भने ।
टेडिवेयरलाई हेर्दा पनि नहेरी छिटोछिटो ऊ आफ्नो कोठातिर लागी ।
सुकेधारा, काठमाण्डौं
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved