Headlines News :
Home » » प्रेमीको विश्वासमा गर्भवती प्रेमिकाको बिचल्ली

प्रेमीको विश्वासमा गर्भवती प्रेमिकाको बिचल्ली

Written By Unknown on Wednesday, November 7, 2012 | 4:00 AM


-कमल डाँगी
नेपालगन्ज २२ कात्तिक । ‘विवाह गर्छु भन्दै यौनसम्बन्ध राखेर गर्भवती बनाएपछि अस्वीकार गरे,’ बाँके शमशेरगन्जका दिलबहादुर सुनारविरुद्ध उजुरी गर्न आएकी बर्दिया मनाउकी प्रेमा परियार (नाम परिवर्तन) ले भनिन्, ‘गर्भ सात महिनाको भइसक्यो, प्रेममा धोका खाइयो ।’
परियारले सुनारविरुद्ध महिला तथा बालबालिका कार्यालय बाँकेमा निवेदन दिएकी छन् । सानो उमेरमै युवायुवती माया प्रेममा लिप्त हुने र यौनसम्बन्ध कायम गर्नु सामान्य बनेकाले नेपालगन्जमा गर्भवती प्रेमिकाको संख्या बढ्दो छ । विवाह गर्छु भन्दै यौनसम्बन्ध राखेका प्रेमी आफ्नी प्रेमिका गर्भ भएको थाहा पाएपछि भाग्ने क्रम बढेको छ भने विवाह पूर्व भएका यौनसम्बन्धबाट गर्भवती बनेका महिला नाता कायम गराइपाऊँ भन्दै प्रहरी र महिला तथा बालबालिका कार्यालय बाँकेमा आउने क्रम बढेको छ ।
प्रेमी र परिवारले समेत स्वीकार नगरी आफूलाई ‘घरको न घाट’को अवस्थामा पुर्‍याएको भन्दै युवतीहरू न्यायका लागि विभिन्न संघसंस्था, कार्यालयमा गुहार माग्न पुगिरहेका छन् । आफूलाई गर्भवती बनाएर भाग्नेलाई खोजी गरी नाता कायम गराइदिन माग गर्दै गत साउन महिनायता पाँच युवतीले निवेदन दिएको महिला तथा बालबालिका कार्यालय बाँकेकी लैंगिक हिंसा फोकलपर्सन बिन्दु कुँवरले जानकारी दिइन् ।
‘अन्धो प्रेममा फसेर अविवाहित अवस्थामा गर्भवती भएका महिला रुँदै न्याय दिलाइदेऊ भनेर हामीकहाँ आइरहेका छन्,’ कुँवरले भनिन्, ‘यस्ता घटना पछिल्लो समय बाँकेमा बढेको छ । पाँचवटा निवेदन परेका छन् । मौखिक रूपमा त धेरै आउँछन् ।’
कुँवरका अनुसार निवेदन दिएकामध्ये केही महिलाको त बच्चासमेत जन्माइसकेका छन् । तर, बाबुको ठेगान छैन । पतिको दाबी गर्दै कतिपयले अदालतमा मुद्दा लडिरहेका छन् । अविवाहित अवस्थामा गर्भवती बनेका महिला आफ्नो परिवारबाट समेत अपहेलित भई बेसहारा भएका छन् । ‘केटा साथीको गल्ती हुँदाहुँदै यस्तो अवस्थामा सबै दोष केटीलाई थुपारिएको हुन्छ,’ उनले भनिन् ।
उनले आफ्नो कार्यालयमा आएका निवेदन सहमतिबाट टुंगो नलागे प्रहरीकहाँ पठाइदिने गरेको कुँवरले बताइन् । अविवाहित अवस्थामा गर्भवती भएका महिलालाई नाता कायम गराउन निकै मुस्किल हुने गरेको पुनरावेदन बार एसोसिएसनअन्तर्गत कानुन व्यवसायी महिला केन्द्रकी अधिवक्ता गीता शाह बताउँछिन् ।
‘न त विवाह गरेको कुनै प्रमाण छ न त साक्षी । अब भन्नुस् अदालतले प्रमाणका आधारमा न्याय दिन्छ कि कोही रोएकै आधारमा,’ शाहले भनिन्, ‘अन्धो प्रेममा सोच्दै नसोची फस्दा धेरै दिदीबहिनीको जिन्दगी बर्बाद भएको छ ।’ शाहका अनुसार यस्ता मुद्दामा नाता कायम गराउने एउटै प्रमाण डिएनए परीक्षण हो ।
‘डिएनएको रिपोर्ट आइसक्दासम्म बच्चा पनि जन्मिसक्छ । त्यसबेलासम्म आमा र बच्चाको पालनपोषण कसले गर्ने,’ शाहले भनिन्, ‘पतिको टुंगो नलागुन्जेल आमा र बच्चाको बेहाल हुन्छ । कतिपय महिलाले त माइतै बच्चा जन्माएका छन् ।’
अन्तरजातीय विवाह स्विकार्ने आश्वासन दिँदै अनैतिक सम्बन्धबाट शिशु जन्मेलगत्तै आरोपित फरार भएपछि बिचल्लीमा परेकी बाँके नौवस्ता–२ की कालिका गन्धर्वले माइतै बच्चा जन्माइन् । तर, जन्मेको दुई सातामै बच्चाको मृत्यु भयो । बच्चाको मृत्युपछि न्याय पाउन उनलाई अहिले गाह्रो भइरहेको छ । आफूलाई गाउँकै मोहन शाहीले गर्भवती बनाएको र उसको अहिले अत्तोपत्तो नभएको कालिकाले बताइन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved