Headlines News :
Home » » अपमान सहेरै प्रधानमन्त्री एमालेको चियापानमा जाने

अपमान सहेरै प्रधानमन्त्री एमालेको चियापानमा जाने

Written By Unknown on Tuesday, October 30, 2012 | 1:41 AM

१४ कात्तिक, काठमाडौं । चाडपर्वको अवसरमा नेकपा एमालेले मंगलबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको हैसियतमा नभई माओवादी उपाध्यक्ष मात्र लेखेर पठाएपनि प्रधानमन्त्री चियापानमा जाने हुनुभएको छ ।
राजनीतिक सहमतिका लागि प्रधानमन्त्री फराकिलो छाती बनाएर चियापानमा जानुहुन्छ’ प्रधानमन्त्रीका स्वकीय सचिव बिश्वदीप पाण्डेले भन्नुभयो-’अपमान सहेरै भएपनि प्रधानमन्त्रीले सहमति निर्माणका लागि काम गर्नुहुनेछ ।’ एमालेले प्रधानमन्त्रीलाई मात्र होइन, अरु मन्त्रीहरुलाई पनि एमालेले पार्टी नेताको हैसियतमा बोलाएको छ ।
एमाले नेताहरुले भने माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा एकीकृत माओवादीले प्रधानमन्त्री नभनेर एमाले बरिष्ठ नेताको रुपमा उहाँलाई चियापानमा निम्तो गरेकोले एमालेले पनि यसपटक त्यसकै साटो फेरेको बताएका छन् । ‘हामीले प्रधानमन्त्री, मन्त्री भनेर सम्बोधन गरेका छैनौं’ एमालेका एक नेताले भने-’यो सरकार असंवैधानिक भनेर हामीले निर्णय गरिसकेको अवस्थामा फेरि प्रधानमन्त्री र मन्त्री भनेर सम्बोधन गर्न मिल्दैन ।’
एमालेले चियापानमा सबै दलका शीर्ष नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिज्ञ, व्यापारी, नागरिक समाजका अगुवा, कलाकार, साहित्यकार, पत्रकार लगायतलाई चियापानमा निम्तो गरेको जनाएको छ । तर सरकारका मन्त्री र प्रधानमन्त्री भनेको छैन ।
कांग्रेसले सोमबार गरेको चियापान कार्यक्रममा भने प्रधानमन्त्री र मन्त्रीकै रुपमा निमन्त्रणा गरेको थियो । ‘कांग्रेसले निम्ता गर्दा प्रधानमन्त्री भनेर सम्बोधन गरेको छ, तर एमालेले यसरी सम्बोधन गर्न कञ्जुस्याईं गर्यो ।’ प्रधानमन्त्रीका एकजना सहयोगीले भने ।
एमालेले पार्टी उपाध्यक्षको हैसियतमा बोलाएकाले प्रधानमन्त्रीको निम्तो पार्टी कार्यालय कोटेश्वरमा पुगेको छ । त्यसैले पनि निम्तो प्रधानमन्त्रीको हातमा पुगेको छैन । सोमबार कांग्रेसको निम्तोमा जान चाहँदा पनि राजधानी बाहिर हुनुपरेकाले उपस्थित हुन नसकेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved