Headlines News :
Home » » बरामद टिभी इन्स्पेक्टरको घरमा

बरामद टिभी इन्स्पेक्टरको घरमा

Written By Unknown on Wednesday, October 31, 2012 | 1:21 AM


वडा प्रहरी कार्यालय विर्ताले तस्करीको भनेर बरामद गरेका सामान प्रहरीले आपसमा बाँडेका छन् । नियन्त्रणमा लिइएको चारवटा रंगीन टेलिभिजन प्रहरीले भागबन्डा गरेर लिएका हुन् ।
वीरगन्ज, 15 कात्तिक 
बरामद गरिएको टिभी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । वडा प्रहरी कार्यालय विर्ताले विशेष सुराकीका आधारमा २ असोजमा चारवटा भारतीय टिभी बरामद गरेको थियो । बरामद भएका चारवटा कबेस्टन ब्रान्डका टिभीमध्ये वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर सुजन जोशीले करिब ४० हजार रुपियाँ मूल्य पर्ने ३२ इन्चको एलइडी टिभी घर लगेका छन् । बाँकी १४ इन्चका तीन रंगीन टिभी वडा प्रहरी कार्यालयकै सई र असईले लगेका हुन् । काठमाडांै स्थायी घर भएका इन्स्पेक्टर जोशीले एलइडी टिभी बुद्ध एयरको जहाजबाट सिमराबाट काठमाडांै पठाएको स्रोतले बताएको छ ।
इन्स्पेक्टर जोशीकै नेतृत्वमा रहेको टोलीले २ असोजमा वीरगन्जको लिंकरोडस्थित लक्की इम्पेक्स टिभी पसलबाट चारवटा तस्करीको टिभी नियन्त्रणमा लिएको थियो । तस्करले सीमावर्ती भारतीय सहर रक्सौलबाट भन्सार छलेर लिंकरोडको टिभी पसलमा पुर्‍याएलगत्तै प्रहरीले चारवटै टिभी बरामद गरेको हो ।
इन्स्पेक्टर जोशीले टिभी भागबन्डा लगाइएको आरोप भ्रामक भएको प्रतिक्रिया दिए । उनले बरामद भएका टिभी अझै पनि वडा प्रहरी कार्यालयमै रहेको दाबी गरे । ‘तस्कर पक्राउ गर्न टिभी भन्सारमा नबुझाएको हो,’ सौर्यसँग इन्स्पेक्टर जोशीले भने, ‘अब एक/दुई दिनमा तस्करसहित टिभी सार्वजनिक गर्छाैं ।’
यसैबीच, बरामद भएका टिभी प्रहरी अधिकृतले आफैँमा भागबन्डा लगाएको खबर बाहिर चुहिएपछि इन्स्पेक्टर जोशीले उम्किने बाटो बनाएका छन् । उनले वीरगन्जबाटै अर्को एक थान एलइडी टिभी खरिद गरेको स्रोतले बताएको छ । नगवास्थित जय शिवशक्ति इलेक्ट्रोनिक्स प्रालिबाट इन्स्पेक्टर जोशीले ४० हजार रुपियाँमा ३२ इन्चको एलइडी खरिद गरेका हुन् । ४० हजार रुपियाँमध्ये २० हजार रुपियाँ अझै उनले तिर्न बाँकी रहेको बुझिएको छ ।
एसपी पीताम्बर अधिकारीले वीर्ता प्रहरीले टिभी बरामद गरेको बारे आफूलाई थाहै नभएको बताए । ‘बरामद गरेको भए पनि यत्रो दिन राख्नु नपर्ने हो,’ सोमबार एसपी अधिकारीले सौर्यसँग भने, ‘अब यसबारे बुझ्छु ।’ सामान्यता प्रहरीले कुनै अवैध सामान बरामद गरे २४ घन्टाभित्र आफूभन्दा माथिल्लो निकायमा जानकारी गराउनुपर्ने वा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । तर, इन्स्पेक्टर जोशीले २ असोजमै बरामद गरेको टिभी न जिल्ला प्रहरी कार्यालयमा बुझाए न त कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयकै जिम्मा लगाए ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved