मलाई कसैले दसैंको सबैभन्दा रमाइलो कुरा के लाग्छ भनेर सोध्यो भने मेरो पहिलो उत्तर हुनेछ, 'पिङ'। म सानैदेखि पिङ भनेपछि हुरुक्क हुन्थेँ। मेरी आमाका अनुसार सानै छँदा मैले घरमा झगडा गरेँ भने मलाई फकाउने माध्यम नै पिङ हुन्थ्यो रे। अलि बुझ्ने भएपछि पनि मेरो पिङप्रतिको मोह घटेन, उल्टो बढिरह्यो। म मोरङको सिजुवामा जन्मिएकी हुँ। गाउँमा मैले थाहा पाउने बेलादेखि नै दसैंको बेलामा लिंगे पिङ गाडिन्थ्यो। अहिले पनि त्यो परम्परा कायमै छ। म स्कुल पढ्दा पनि घर छेउको खालि जमिनमा पिङ गाडेपछि मात्र दसैं आएको हो कि जस्तो लाग्थ्यो। दसैंको घटस्थापनाको दिनदेखि स्कुल बिदा हुने भएकाले त्यही दिनदेखि हामी साथीहरू भेला भएर पिङ खेल्थ्यौं। पिङ खेल्ने क्रममा पालो कुर्दा-कुर्दा खुट्टा दुखेको सम्झना अहिलेसम्म पनि ताजै छ। काठमाडौं आएर सांगीतिक क्षेत्रमा व्यस्त हुन थालेपछि पनि मलाई पिङको मोहले छाड्न सकेको छैन। अहिले पनि म दसैंमा घर जानुभन्दा अघि काठमाडौंबाटै फोन गरेर घर छेउमा पिङ गाडेको छ कि छैन बुझ्छु। यसपटक पनि मैले गाउँमा पिङ गाडिएको जानकारी पाइसकेकी छु। कहिले घर पुगेर पिङ खेलौं जस्तो भैसकेको छ।
काठमाडौंमा पनि म कहिलेकाहीं भृकुटीमण्डपको फनपार्कमा पुगेर पिङ खेल्छु। देशका विभिन्न भागमा आयोजना हुने महोत्सवहरूमा पनि पिङ विशेष आकर्षणका रूपमा राखिएको हुन्छ। मैले झापाको बिर्तामोड, इटहरी आदि स्थानमा आयोजित भएका महोत्सवहरूमा पिङ खेलेकी छु। महोत्सवका सांगीतिक कार्यक्रममा भाग लिने क्रममा अरू गायक-गायिकाहरू गीत-संगीतमा मात्र केन्दि्रत भैरहेको बेला मचाहिँ गीत गाउनु अघि र गाइसकेपछि पिङ खेल्न भ्याइहाल्छु। दसैं र पिङबीच एउटा धार्मिक सम्बन्ध पनि छ भन्ने कुरा मैले केही वर्षअघि मात्र जानकारी पाएँ। खासगरी विजयादशमी अर्थात् टीकाको दिन हरेकले एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यता छ। त्यसरी धर्ती छाड्ने एक मात्र माध्यम पिङ नै हो। त्यसैले विजयादशमीको दिन टीका लगाएपछि पनि म पिङ खेल्न जान्छु। टीका दिनचाहिँ पिङ खेल्ने ठाउँमा निकै भीड हुने भएकाले लामो समयसम्म पिङ खेल्न पाइँदैन। सामान्य अवस्थामा म लगातार १५ मिनेटसम्म पिङ खेल्न सक्छु। पिङ खेलेर रिँगटा लाग्न थालेपछि मात्र म पिङबाट उत्रिन्छु। बाल्यावस्थादेखि नै लागेको मेरो पिङ खेल्ने बानी शायद जीवनभरि नै छुट्दैन ?



No comments:
Post a Comment