Headlines News :
Home » » नोक्सानी पन्छाउन व्यवसायीलाई सोझै तेल बिक्री

नोक्सानी पन्छाउन व्यवसायीलाई सोझै तेल बिक्री

Written By Unknown on Sunday, October 28, 2012 | 12:53 PM

काठमाडौ, कात्तिक १३ (नागरिक)- नेपाल आयल निगमले तेलको प्राविधिक नोक्सानी पन्छाउन डिपोमा तेल नखन्याई सोझै पेट्रोलियम व्यवसायीलाई बिक्री गर्ने क्रम बढाएको छ। भारतबाट ट्यांकरमा ल्याएको तेललाई डिपोमै नखन्याई सामान्य नापतौल गरेर व्यवसायीलाई बिक्री गरिदै आएको छ। 
डिपोमा नखन्याई सोझै बिक्री गर्दा सबै नोक्सानी पम्प व्यवसायीलाई पन्छाउन सकिन्छ। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका निर्वतमान अध्यक्ष सरोज पाण्डेले निगमको नोक्सानी रोक्न डिपोमा नखन्याई तेल बिक्री गरिएको बताउँछन्।
'निगमले आफ्नो नोक्सानी कम गर्न सोझै व्यवसायीलाई तेल बिक्री गरिरहेको छ। यसरी तेल बिक्री गर्दा तापक्रम नोक्सानी, डाइभ्ररले गर्ने चोरी सबै व्यवसायीलाई पठाउन सकिन्छ,' उनले आइतबार नागरिकसँग भने, 'पछिल्लो समयमा सोझै व्यवसायीलाई तेल बिक्री गर्ने क्रम झनै बढेको छ।' निगमले सामान्य 'डिप रड'ले ट्यांकरमा रहेको तेलको नापतौल गरेर व्यवसायीलाई बिक्री गर्छ। डिप रड ट्यांकरमा डुबाएर नापतौल गर्ने प्रणालीबाट तेलको वास्तविक तौल आउनै नसक्ने व्यवसायीहरु बताउँछन्।
'डिपले तेलको नापतौल गर्ने प्रणालीले वास्तविक तौल आउनै सक्दैन। ट्यांकरको क्यालिब्रेसन विगार्नेदेखि टायरमा हावा कम हुनेवितिकै तौल घटबढ हुनसक्छ,' पाण्डेले भने, 'डिप रडको माध्यमले मात्रै जाँच्दा व्यवसायीले तीन हजार लिटरमा पचास लिटर कम तेल पाइरहेका छन्।' उनले डिप रडको वाहेक 'वेइङ' गरेर तेल बिक्री गर्ने व्यवस्था हुनुपर्ने बताउँछन्।
'अन्तर्राष्ट्रिय स्तरमा तेल बिक्री गर्दा 'वेइङ' गरेर दिने परम्परा छ। तर यहाँ भने तेलको अभाव देखाएर व्यवसायीलाई नोक्सानी पन्छाउने गरिएको छ,' पाण्डेले भने, 'यसबाट निगमका कर्मचारीलाई समेत खेल्ने मौका मिलेको छ।' सोझै तेल बिक्री गर्दा ट्यांकर चालकले गरेको चोरी समेत व्यवसायीकै थाप्लोमा पर्छ। चालकले एउटा ट्यांकरबाट २ सय ५० लिटरसम्म तेल चोरी गरेको पत्ता लागेको थियो। तीन वर्षअघि बरौनी- अमलेखगञ्ज रुटमा चल्ने ट्यांकरको नापतौल गर्दा धेरै ट्यांकरमा २ सय ५० लिटरसम्म कम तेल फेला परेको थियो। निगमका इन्जिनियर वीरेन्द्र गोइतको संयोजकत्वमा गएको टोलीको अनुगमनमा त्यति धेरै परिमाणको तेल कम भेटिएको थियो। व्यवसायीले निगमबाट कम पाएपछि उपभोक्तालाई तेल कम दिएर त्यसको क्षतिपूर्ति लिने गरेका छन्।
'निगमलेनै कम तेल दिएपछि हामीले त्यसको नोक्सानी उपभोक्ताबाटै लिने हो,' एसोसिएसनका पूर्व उपाध्यक्ष एवं जुबी आयल स्टोर्सका सञ्चालक ध्रुब श्रेष्ठले भने, 'डिपोमा खन्याएर पूरा तौल नदिएसम्म समस्या कम हुँदैन्।' निगमले गत वर्ष डिपोमा नखन्याई सोझै तेल बढी बिक्री गरेको छ। सोझै बिक्री गरेकै कारण गत वर्ष निगमका सबै डिपोको नोक्सानी लक्ष्यभित्रै रहेको छ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेल भने नापतौल गरेर तोकिएकै परिमाणको तेल दिने गरेको दावी गर्छन्। 'पछिल्लो समयमा माग बढेकोले डिपोमा नखन्याई सोझै व्यवसायीलाई तेल दिने गरेको सत्य हो। तर हामीले पूरा परिमाणको तेल दिने गरेका छौ,' उनले भने, 'तेल कम हुन्छ भन्ने भनाईमा कुनै सत्यता छैन।' उनका अनुसार पूरा परिमाणको तेल दिएपछि डाइभ्ररले बीच बाटोमै झिक्ने गरेको पाइएको छ। 'हामीले पूरा परिमाणको तेल दिने गरेका छौ। तर डाइभ्ररले बीच बाटोमै झिक्ने गरेको केही दिनअघि भक्तपुर प्रहरीले पक्रेको थियो,' उनले भने, 'बरु व्यवसायीनै मिलेर तेल झिकेर निगमलाई दोष थोपर्ने गरेका छन्।' उनले डिपो सुविधा सम्पन्न नहुँदा विवाद आउने गरेको बताउँदै डिपो 'अटोमेसन' गर्नेतर्फ लागेको बताए।'हामीले डिपोलाई सुविधा सम्पन्न बनाउन खोजेको हो। डिपो अटोमेसन हुने वितिकै निगमलाई आउने आरोपको अन्त्य हुनेछ,' ढुंगेलले भने।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved