काठमाडौ, कार्तिक १२ - नेपालले १६ औं वरीयताबाट सुरु गर्दै वल्र्ड ट्वान्टी-ट्वान्टी क्रिकेटको छनोट सातौंमा टुंग्याएको थियो । वल्र्ड क्रिकेट लिग डिभिजन फोर च्याम्पियन हुँदै डिभिजन थ्रीमा उक्लियो । दसैंको पूर्वसन्ध्यामा नेपाल यूएईसँगै संयुक्त रूपमा एसीसी एलिट कप च्याम्पियन नै भयो ।
यी त भए, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले वर्ष नबित्दै हात पारेका सफलता । शारीरिक रूपमा सक्षम खेलाडीको राष्ट्रिय टिम एकपछि अर्को गर्दै निरन्तर खुडकिलो चढिरहेको छ । क्रिकेटको यस्तो माहोलमा दृष्टिविहीन नेपाली पनि कमजोर छैनन् । उनीहरूको जोस र सफलताले पनि उकालो बाटो पछ्याइरहेको छ । यस्तोमा दृष्टिविहीन नेपाली क्रिकेटर पहिलोपल्ट सञ्चालन हुन लागेको ट्वान्टी-ट्वान्टी वल्र्डकप खेल्ने तयारीमा छन् ।
भारतको बैंग्लोरमा मंसिर १५ देखि २९ सम्म हुने वल्र्डकपमा टेस्ट क्रिकेट नखेल्ने राष्ट्रहरूको प्रतिनिधित्व नेपालले गर्दैछ । नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेका अनुसार ३० देशका दृष्टिविहीनहरू क्रिकेट खेल्छन् । नेपाली सेनासँग आबद्ध उनले २७ साउन, २०६० मा माओवादीले कालिकोटमा थापेको धरापमा परेर दुवै आँखा गुमाएका थिए । त्यसको ३ वर्षपछि उनकै अगुवाइमा नेपालमा दृष्टिविहीन क्रिकेट सुरु भएको थियो । उनी वल्र्ड ब्लाइन्ड क्रिकेट काउन्सिलका एसियन डेभलपमेन्ट डाइरेक्टर पनि हुन् ।
घरेलु प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता, खेलाडी संख्या र क्षमताका आधारमा वल्र्ड ब्लाइन्ड क्रिकेट काउन्सिलले नेपाललाई नेत्रहीन क्रिकेटको ट्वान्टी-ट्वान्टी वल्र्डकप खेल्न दिने निर्णय गत वर्ष नै गरेको थियो । बेला-बेला आउने अवलोकनकर्ताको मूल्यांकनअनुसार काउन्सिलले नेपाललाई अवसर दिएको घिमिरेले बताए । टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अपि|mका र वेस्ट-इन्डिजले पनि दृष्टिविहीन वल्र्डकप खेल्नेछन् । नौ देशले दुई समूहमा रहेर लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
असोज २१-२५ मा राजधानीमा भएको छनोटबाट वल्र्डकप खेल्ने १६ खेलाडी चयन गरिएको थियो । उनीहरूले मंसिर ३ देखि १२ गतेसम्म बन्द प्रशिक्षणमा रहेर तयारी गर्नेछन् । दसैं/तिहारमा चाहिँ घरमा आफैं शारीरिक अभ्यास गर्नेछन् । नेपालले वल्र्डकपमा सेमिफाइनल पुग्ने लक्ष्य बनाएको छ ।
'शारीरिक रूपमा पूर्ण क्षमता भएका खेलाडीले नै वल्र्डकप खेल्न नपाएको अवस्थामा हाम्रो -नेत्रविहीन) निम्ति सहभागी हुनु नै ठूलो हो,' संघ अध्यक्ष घिमिरेले भने ।
'जीवनमा सबैभन्दा महत्त्वपूर्ण खुसी हो । जुन हामीलाई क्रिकेटले दिएको छ । दुःखमा पनि रमाउन सिक्नुपर्छ भन्ने क्रिकेटले सिकाएको छ,' दृष्टि गुमाएपछि ३ वर्ष घरभित्रै बिताएका उनले भने, 'हामीप्रति समाजले घृणाको व्यवहार त्याग्दै गर्व गर्न थालेको छ । बा-आमालाई खुसी बनाएको छ । खर्च जुटाउन गाह्रो भए पनि नेपालको प्रतिनिधित्व गरेर हामी पनि अन्य खेलाडीजस्तै राष्ट्रको गहना बन्दैछौं । त्यसैले हाम्रा लागि सहभागिता नै जितभन्दा ठूलो हुनेछ ।'
आत्मविश्वासी बन्दै दुलेगौंडा, तनहँुका १९ वषर्ीय सुजन कार्कीलाई माइनस ५ क्षमताको चस्मा लगाएर पनि मान्छे चिन्न हम्मेहम्मे नै पर्छ । ११ वर्षको छँदै दृष्टि गुमाएका उनी सानैदेखि क्रिकेटका पारखी हुन् । वल्र्डकप छनोटको अन्तिम चरणबाट बाहिरिएका उनले भने, 'आँखाले हेर्न नभ्याउँदा पनि क्रिकेट भइरहेको मैदानमा पुग्थें । दृष्टि गुमेपछि क्रिकेट खेल्न सुरु गरंे । क्रिकेट खेलेको देखेर अबचाहिँ केही गर्न सक्छौ भनेर सबैले हौसला दिन्छन् । त्यसैले निकै खुसी लागेको छ ।'
पोखराको भद्रकाली बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षमा अध्ययनरत साँखर, स्याङ्जाकी २२ वषर्ीया भगवती भट्टराई भन्छिन्, 'सिक्नुअघि क्रिकेट कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । समय उपयोग गर्न पढाइको विकल्प थिएन । क्रिकेट खेल्न थालेपछि आत्मविश्वासी अनुभव गर्न थालें । समाजमा घुलमिल हुन सिकें । र, केही गर्नसक्ने भएँ । मिहिनेत गरे फल प्राप्त हुने आस र आत्मविश्वास क्रिकेटले दिलाएको छ ।' पुरुष टिमले प्रतिस्पर्धा गर्ने भए पनि उनी अवलोकनकर्ताका रूपमा बैंग्लोर जाँदैछिन् ।
एथलेटिक्समा गोन्जाउको पारा एसियाड र लन्डनको पारा ओलम्पिक खेलेका बैतडीका विक्रमबहादुर राना पनि वल्र्डकपका लागि छनोट भएका छन् । एथलेटिक्स खेल्दाखेल्दै क्रिकेटमा किन ? 'क्रिकेट सामूहिक खेल हो । एक खेलाडीले मात्र राम्रो गरेर हँुदैन । क्रिकेटले समूहमा काम गर्ने व्यवहार सिकाउँछ । शारीरिक रूपमा स्वस्थ पनि बनाउँछ । त्यसैले क्रिकेट रोजेको हो,' ३४ वषर्ीय उनले भने ।
सेनामा आबद्ध विक्रमले गुर्जीभन्ज्याङ -नुवाकोट-काठमाडौं सीमा) मा माओवादीले थापेको विद्युतीय धरापमा परेर नौ वर्षअघि दुवै आँखा गुमाएका थिए । वल्र्डकपबारे उनले भने, 'क्रिकेटको कुम्भ हो । यसबाट थप आत्मविश्वासी बन्नेछु ।' आँखा नदेख्ने मान्छे घरबाट टाढा जानु हँुदैन भन्ने नेपाली समाजको मान्यता विस्तारै परिवर्तन भइरहेको उल्लेख गर्दै दृष्टिविहीन क्रिकेटका प्रशिक्षक गंगाप्रसाद पौडेलले भने, 'दृष्टिविहीनको गाली खाने समय अहिले क्रिकेटले लिएको छ । यो राम्रो हो ।
यसले उनीहरूमा आत्मविश्वास जगाउँछ । यो हार-जितको नतिजाभन्दा महत्त्वपूर्ण हो ।'
यसरी खेलिन्छ सामान्य क्रिकेटमा जस्तै दृष्टिविहीन क्रिकेटमा बल उफार्ने गरिंदैन । अर्थात् बल गुडाएर बलिङ गरिन्छ । बल प्लास्टिकको हुन्छ । बलभित्र फलामका स-साना गुच्चा 'ब्यारिङ' राखिन्छ । गुडाएर बलिङ गर्दा त्यही ब्यारिङको आवाज आउँछ । त्यही आवाज अनुमान लगाएर ब्याट्सम्यानले ब्याटिङ गर्छन् ।
दृष्टि शक्तिका आधारमा खेलाडीलाई ३ समूहमा वर्गीकरण गरिन्छ, बी वान, टु र थ्री । पूर्ण दृष्टिविहीन बी वानमा पर्छन् । जसले कालो चस्मा लगाउने गर्छन् । ५ मिटरसम्म छाया अनुभव गर्ने बी टुमा हुन्छन् । २० मिटरसम्मको छाया र गति अनुभव गर्नेलाई बी थ्रीमा राखिन्छ । चौध सदस्यीय एक टिममा बी वान र थ्रीका ५-५ र बी टुका ४ खेलाडी समावेश गर्न सकिन्छ ।
बी वानका खेलाडीले ब्याटिङ गर्दा रनर -रन बनाउन दौडने) लिन पाउँछन् । रनर बी टु वा थ्रीको हुनुपर्छ । बी वानका खेलाडीले लिएको प्रत्येक रन दोब्बर हुन्छ । जस्तै १ रन लियो भने २, चौका हान्यो भने ८ रन, छक्का प्रहार गर्यो भने १२ रन जोडिन्छ । बी टु र थ्रीका खेलाडीलाई यस्तो अवसर हुन्न । बलिङमा भने समानता हुन्छ ।
पुरानो अनुभव
ट्वान्टी-ट्वान्टी वल्र्डकप नेपाली दृष्टिविहीन क्रिकेटरले खेल्न लागेको औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । विदेशी भूमिको पहिलो प्रतिस्पर्धा भने हुने छैन । नेपाली दृष्टिविहीन क्रिकेट टिमले सन् २००८ र २०१० मा पाकिस्तान गएर खेलेको थियो । पहिलोपल्ट त्यहाँको स्थानीय टिमसँग नौ खेल खेल्यो । दोस्रो भ्रमणमा पाकिस्तानी राष्ट्रिय टिमविरुद्ध ५ खेल खेल्यो ।
पाकिस्तानीले नै ६ वर्षअघि आएर नेपाली दृष्टिविहीनलाई क्रिकेट सिकाएका थिए । त्यसैले नेपाली नेत्रहीन क्रिकेट र पाकिस्तानसँगको सम्बन्ध प्रगाढ भएको हो । पाकिस्तानीले दिएको प्रशिक्षणमा २ महिलासहित ३३ नेपाली खेलाडी थिए । महिलाको ६ र पुरुषको ४ पल्ट राष्ट्रिय प्रतियोगिता भइसकेको छ । पछिल्लोपल्टको राष्ट्रिय प्रतियोगितामा ४ सय ५० सहभागी थिए । राष्ट्रिय प्रतियोगिताबाट छानिएका खेलाडीले नै वल्र्डकपमा नेपालको प्रतिनिधित्व गर्दैछन् । पाकिस्तान गएर खेलिसकेका खेलाडी पनि टिममा छन् । त्यसैले उनीहरूको अनुभव बैंग्लोरमा काम लाग्ने आस छ ।



No comments:
Post a Comment