११ कात्तिक,काठमाडौँ, । राष्ट्रपति डा रामवरण यादव र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच आज राष्ट्रपति निवासमा मुलुकको विद्यमान राजनीतिक गतिरोध र त्यसको निकासका विषयमा छलफल भएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग आजै भेट गर्नुभएका नेता नेपालले मुलुकको संवैधानिक र राजनीतिक सङ्कटबारे राष्ट्रपति र आफूहरु पनि चिन्तित भएकाले त्यसको निकासको पहलका लागि भेट गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ निर्वाचन गर्न सरकारले मन्त्रीहरुको भागवण्डा गर्ने कुरा बाहिर आएको छ, अनि आफ्नो हात माथि पारेर र सङ्कट लम्ब्याएर मुलुकलाई अस्तव्यस्त पार्ने चाहना पूरा हुन दिइने छैन ।”
मुलुक संवैधानिक शून्यतातिर उन्मुख भएकाले संविधानका धाराहरुभन्दा यसको भावनाअनुसार चल्नुपर्ने र अब नयाँस्तरबाट गम्भीर छलफल गरी तिहारअघि सहमतिको पहल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान सरकारले बाटो खुल्ला गरेमा विश्वासको वातावरण बन्ने र आगामी वैशाखभित्र निर्वाचन हुने गरी प्याकेजमै सहमति गर्न कानुनी उपाय र प्रक्रियाबारे छलफल हुनुपर्ने श्री नेपालको कथन थियो ।
आफूहरुबीच बजेटका समस्या बारेमा पनि कुराकानी भएको जनाउँदै उहाँले हालसम्मको एक तृतीयांश बजेटसमेत पारित नभएको अवस्थामा अब यो सरकारको मातहतमा पूर्ण बजेट वा संवैधानिक निकायहरुमा पदपूर्तिका लागि अध्यादेशहरु आउने कल्पना नगरे हुन्छ भन्नुभयो ।
भेटमा राष्ट्रपति डा यादवले राजनीतिक गतिरोध चाँडै अन्त्य गर्नका लागि दलहरुबीच छलफल होस्, मुलुक थप सङ्कटतिर नजाओस् भनेर चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको भनाई उद्धृत गर्दै नेता नेपालले जानकारी दिनुभयो ।


No comments:
Post a Comment