१० कात्तिक, भक्तपुर । भक्तपुरका गाउँगाउँमा गरिएको व्यावसायिक फूल खेतीका कारण यतिखेर जिल्लाका अधिकांश गाउँहरु राताम्य भएका छन् । जिल्लामा फूल खेती गरिएका गाउँका प्रत्येक टोलहरुका आगनदेखि बारीभरी लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेपछि गाउँ नै राताम्य भएको हो ।
भक्तपुरमा सबैभन्दा बढी फूल खेती हुने जिल्लाको दक्षिणी भेगको गुण्डु गाविसको प्रत्येक टोल एक महिनादेखि राताम्य छन् । घरघरमा व्यावसायिक फूलखेती भएका कारण यहाँका प्रत्येक घरका आगन र बारीहरु सयपत्री र मखमलीमय बनेका छन् ।
ताथली गाविसको वनमाला टोल, सुडाल, दुवाकोट, चाँगु, झौंखेल, बागेश्वरी, नंखेल, चित्तपोल, सिपाडोल, कटुञ्जेलगायत गाविसका गाउँहरु लटरम्म फुलेका फूलका कारण राताम्य भएका छन् । मखमली र सयपत्री फूल खेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानहरु अहिले यसतर्फ आकषिर्त भएको गुण्डु गाविसमा विगत छ वर्षदेखि फूलखेती गर्दै आएकी सरिता कुँवरले बताउनुभयो ।
धानको खेतीबाट भन्दा चौगुणा बढी आम्दानी हुने र बारीमा मकैसँगै फूलखेती गर्न सकिने भएपछि यस गाविसका प्रत्येक बासिन्दाले फूल खेती गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “असारमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिने भएकाले एक सिजनमा एक रोपनी जग्गाबाट रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने भएकाले सबै स्थानीयले फूल खेती गरेका हुन् ।”
गुण्डुमा मात्र २०० रोपनी भन्दा बढी जग्गामा फूल खेती गरिएको भन्दै स्थानीय पार्वती नगरकोटीले जग्गा नहुनेले जग्गा भाडामा लिएर भएपनि खेती गरेको बताउनुभयो ।
मखमली फूल नओइलाउने हुँदा भदौदेखि टिपेर माला गाँसेर राख्न सकिने र स्याहार सुसारसमेत बढी गर्नु नपर्ने भएकाले पनि यो खेती सहज भएको गुण्डु गाविस-१ का किसान रमेश चौगुठीले बताउनुभयो ।
स्थानीय विकास कोषका सहजकर्ता सुनिता रिसालले यहाँका एक परिवारले एक सिजनमा न्यूनतम् पनि रु ४० हजारदेखि बढीमा दुई लाखसम्म कमाइ गर्ने गरेको बताउनुभयो ।
फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको बेर्ना पनि लगाइन्छ । “मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो सातामा टिप्न सुरु हुन्छ” मेनुका नगरकोटीले भन्नुभयो ।
भक्तपुर जिल्ल्ाामा मात्र करिब ४०० रोपनी जग्गामा फूल खेती गरिएको छ भने यहाँको फूल खेतीबाट उत्पादन भएका फूलहरु उपत्यका बाहिरका जिल्लाका साथै भारत, बङ्गलादेश, भुटान, जापान, अमेरिका, बेलायतलगायत देशमा निर्यात हुने गरेको स्थानीयवासी बताउँछन् 



No comments:
Post a Comment