Headlines News :
Home » » सगरमाथामा चीनको चोमोलोङमा निकुञ्ज

सगरमाथामा चीनको चोमोलोङमा निकुञ्ज

Written By Unknown on Sunday, October 28, 2012 | 12:48 PM


हङकङ, कार्तिक १३ - चीनले नेपाल-तिब्बत सीमा क्षेत्रमा सगरमाथाकै नाममा विश्वकै अग्लो नेसनल पार्क (राष्ट्रिय निकुञ्ज) निर्माण गरेको छ । ७८ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पार्कले सगरमाथालगायत ८ हजार मिटरभन्दा अग्ला पाँच र ७ हजार मिटर अग्ला दस हिमाल समेटेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
'चोमोलोङमा नेसनल पार्क' नामकरण गरिएको निकुञ्ज शुक्रबारदेखि सञ्चालनमा आएको हो । 'सगरमाथा' को तिब्बती नाम 'चोमोलोङमा' हो । चिनियाँ सञ्चार माध्यमले उक्त निकुञ्ज विश्वकै अग्लो स्थानमा रहेको दाबी गरे पनि नेपालले सन् १९७६ मै 'सगरमाथा राष्ट्रिय निकुञ्ज' स्थापना गरेको थियो ।
१ हजार १ सय ४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएकोे निकुञ्जले समेत सगरमाथा, ल्होत्से, नुप्त्से, चोयु, अमा दब्लम हिमाल तथा वरपरका क्षेत्र ओगटेको छ । सोलुखुम्बु जिल्लाको उत्तरी भागमा अवस्थित निकुञ्ज १९७९ मा विश्व सम्पदामा सूचीकृत भएको हो । नेपालले सगरमाथा राष्ट्रिय निकुञ्ज घोषणा गरेको करिब ३६ वर्षपछि चीनले समेत उसैलाई लक्षित गरी अर्को स्थापना गरेको हो ।
तिब्बतलाई विश्वकै महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने केन्द्रीय सरकारको लक्ष्यअनुरूप निकुञ्ज निर्माण भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । पार्कभित्र इकोलोजिकल भ्याली, सांस्कृतिक क्षेत्र, हट स्पि्रङ तथा बर्फले छोपिएको जंगलसमेत बनाइएका छन् । सगरमाथाले विश्वभरका पर्यटकहरूलाई आकषिर्त गरिरहेको उल्लेख गर्दै सिन्ह्वाले यसै वर्षमात्र ७३ हजारले यो क्षेत्र भ्रमण गरेको बताएको छ ।
राष्ट्रिय निकुञ्जभित्र विशाल क्षेत्र समेटिएकाले नेपालसमेत लाभान्वित हुने ल्हासास्थित महावाणिज्य दूतावासका वाणिज्यदूत दधिराम भण्डारीले बताए । 'दुई मुलुकको सीमानजिक रहेकाले यहाँसम्म आउने पर्यटक नेपालको समेत भ्रमण गर्ने सम्भावना बढी हुन्छ,' वाणिज्यदूत भण्डारीले भने,' 'वन्यजन्तु तस्करी रोकथाम तथा जैविक संसाधनको संरक्षणमा समेत सघाउ पुग्न सक्छ ।'
तिब्बत पर्यटन ब्युरोका उप-प्रमुख सन योङपिङले पनि नेसनल पार्कले जैविक संसाधनको तस्करी, अवैध भूमि उपयोग संरक्षणलगायत क्षेत्रमा ध्यान केन्दि्रत गर्ने बताएका छन् । नेपाल र तिब्बत दुवै पक्षका भन्सार कार्यालयले बेलाबखत अवैध तस्करी गरी सीमा पार गर्न लागिएका संरक्षित वन्यजन्तु, जडीबुटीलगायत बरामद गर्ने गरेको छ ।
'अब दुवै मुलुकबीच हुने यस्ता आपराधिक गतिविधि कम हुन सक्छन्,' भण्डारीले भने, 'यसबाहेक नेपालले उच्च भूभागमा निकुञ्ज सञ्चालन गर्ने चिनियाँ अनुभवसमेत सिक्न सक्छ ।' विगत पाँच वर्षमा तीब्बत भ्रमणमा आउनेको संख्या प्रत्येक वर्ष ३० प्रतिशतले वृद्धि भइरहेको सिन्ह्वाले जनाएको छ । गतवर्ष करिब ८७ लाख पर्यटकले तिब्बत भ्रमण गरेका थिए । पर्यटनमा २५ अर्ब युआन बढी लगानी रहेको यस क्षेत्रमा ३ लाख कार्यरत रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved