Headlines News :
Home » » नशारहित धूवाँ

नशारहित धूवाँ

Written By Unknown on Sunday, October 28, 2012 | 1:47 AM


काठमाडौ, कार्तिक १२ - हरेक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ भनेर न्युटनको नियमले भन्छ । फिल्म 'धूवाँ: यो नशा' एउटा गतिलो कथामा क्रिया र प्रतिक्रियाको बिनासुझबुझ तयार पारिएको पटकथामा फितलो बन्न पुगेको छ ।
कलेज पढ्दै गरेको अभि -आर्यन) ले आफ्नै कक्षा साथी समीरा -निशा) लाई मन पराउँछ । सामान्य र परम्परागत सुरुवात रहेको फिल्ममा दर्शकले धेरै कुरेपछि केही फरकपना पाउँछन्, हिरोले हिरोइनलाई प्रपोज गर्न लागूऔषधको सहारा गर्छ । समीरालाई प्रेम प्रस्ताव राख्न आँट नआएपछि केही टयापे साथीहरूको उक्साहटमा अभिले ड्रग्स खाएर 'आँटिलो' बन्छ र सर्टकटमा प्रस्ताव गर्छ, चुम्बन दिएर । चुम्बन गरिन्जेल प्रतिक्रिया विहीन समीरा त्यसपछि हठात् रिसाउँछे । भोलिपल्ट माफी माग्न पुगेको अभिले समीराको साथीको थप्पड खाएपछि मुर्मुरिन्छ र पुनः ड्रग्स सेवनतिरै लाग्छ ।
लागूऔषध दुव्र्यसनीलाई मूलकथा बनाएर तयार पारिएको भनिएको फिल्म 'धूवाँ : यो नशा' लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्म प्रदर्शनपूर्वको प्रमोसनमा अध्ययन/अनुसन्धान साथ खुबै मिहिनेत गरेर बनाइएको भनिएको फिल्म हलको पर्दामा चल्दै गर्दा भने त्यसको पूरा छनक पाउन गाह्रो पर्छ ।  फिल्मको मुख्य पात्र नै यति सजिलै लागूपदार्थको कुलतमा फस्छ कि पत्याउनै मुस्किल पर्छ । कलेज पढ्ने विद्यार्थीले पक्कै पनि बहकावमा आएर ड्रग्स खाँदैन । फेरि अहिलेको अवस्थामा मन परेकी केटीलाई प्रस्ताव गर्नु त्यो हदसम्मको समस्या पनि नहोला । फेरि कुन घटना वा के कारणले अभिलाई समीरा यतिविघ्न मन परी दर्शकले थाहा पाउँदैनन् । केवल फिल्म हेर्न बसेका दर्शकले पर्दामा एकपछि अर्को घटनाको साक्षी बन्नु परिरहन्छ । पात्रहरू विवेश शून्य गुडिया जस्ता मात्रै लाग्छन् ।
ड्रग्स कुलतको विषयमा बनेको फिल्ममा बियरको भने अत्यधिक प्रयोग देखिन्छ । लाग्छ, वियरले बेफाइदा नै गर्दैन । 'साथी' सांगीतिक ब्यान्डको मुख्य गायक अभि कन्सर्टको स्टेजमा चढेर 'नसोच जीवन यो धूवाँँ हो...बेलैमा होस् गर नत्र  पछि पछुताउला' गाउँछ तर ब्याक स्टेजमा भने बियरको चुस्कीमा रमाइरहन्छ । उता समीरा पनि धेरै समय अभिबाट टाढा बस्न सक्दिनँ । माफ गरिदिएपछि केही समय दुवैको रोमान्सले फिल्मको समय लिन्छ । तर दुवैलाई अलग बनाउन यतिबेला फेरि अभिको ड्रग्सको कुलत बीचमा आउँछ । यतिन्जेल आफ्नै साथीको कुलतका बारेमा बेखबर समीराले ड्रग्स प्रयोगका कारण प्रहरीले समातेको खबर टीभी समाचारबाट पाउँछे । उम्कन नसक्ने गरी ड्रग्समा फसेको अभि समीराको प्रेमको नशामा पनि परेको हुन्छ । अन्ततः दुवै नशालाई त्याग्न नसकेपछि समीरालाई पनि कुलतमा फसाउन ऊ सफल हुन्छ । त्यसपछि फिल्मले केही नयाँ बाटो कोर्ने छनक देखाउँछ तर पूरा गर्दैन ।
 चुनौतीपूर्ण कथालाई बोकेको भए पनि फिल्मले त्यसलाई चरितार्थ गर्न भने सकेको छैन ।
चुट्कीको भरमा घटना क्रममा फेरिरहने पटकथा अनि कमजोर अभिनयले फिल्मलाई माथि उठाउन सकेको छैन । पात्रले परिस्थितिजन्य भाव पैदा गर्नबाट चुकेका छन् । भलै,  नायक नायिका सुकिलामुकिला मात्रै देखिनुपर्ने रोगबाट भने यसका कलाकार केही मुक्त छन् । मेकअपले भने बरू केही भाव व्यक्त गरेको छ । पाश्र्व संगीतले कुनै दम देखाउन सकेको छैन । सांगीतिक रूपमा पनि फिल्मलाई अब्बल मान्न सकिने ठाउँ छैन ।
लागूऔषध दुव्र्यसनीको विषयमा बनेको भए पनि फिल्म सन्देशमूलक भने होइन । निराशावादी शैलीमा फिल्मले कुलतमा फसेकाको भविष्यलाई अन्धकार मात्रै देखाएको छ । अथवा, दुई टयाबलेट खाएको भरमा जिन्दगीभर उम्कन नसक्ने लतमा फस्ने दृष्टान्त पेस गर्छ । त्यस बाहेक कथाको लयलाई नै बिगार्ने खालका केही सस्ता रोमान्स दृश्यले पनि फिल्मको वजनलाई घटाएको छ । विषयको गाम्भीर्य र अध्ययनको कमीले चाल्न खोजिएको गतिलो पाइलाको सुरुवातमै ठेस पुर्‍याएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved