Headlines News :
Home » » प्रवासमा टीकाटालो

प्रवासमा टीकाटालो

Written By Unknown on Sunday, October 28, 2012 | 1:57 AM


काठमाडौ, कार्तिक १२ - प्रवासीभूमिमा दसैंका बेला भेटघाट, खानपिन गरेर मनाउने ताहुँ-१ पाल्पाका लालबहादुर ढेंगालाई यसपालिको दसैंले छुट्टै आनन्द दियो । उनले ८ वर्षपछि पुख्र्यौली घर-आँगनमै दसैं मनाए ।  
१८ वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कार्यरत ४२ वर्षीय ढेंगाले वृद्ध आमाको हातबाट टीका लगाए, आशीर्वाद लिए । कम्पनीबाट बर्सेनि घर आउने सुविधा भए पनि दसैंमा घर आउने मौका उनलाई अहिले मिलेको थियो । 'आमा बिरामी हुनुहुन्छ, उहाँको हातबाट टीका र आशीर्वाद लिएँ र दुःखसुखका कुरा गरेर बिताएको छु,' परिवारसहित बुटवलको बसाइबाट घर पुगेका ढेंगाले भने, 'पुख्र्यौली थलोमा धेरैसँग भेटघाट भयो र सामाजिक कामबारे पनि छलफल गर्‍यौं ।' दसैंका बेला बाल्यकाल र किशोरावस्थामा चर्खे पिङ, डोरे पिङको रौनकले उनलाई अहिले पनि छोएको छ । पहिलेको दसैं रमाइलो बित्थ्यो भने अहिले जिम्मेवारीमा बितेको उनको अनुभव छ । 'अहिले खर्चपर्चदेखि सबै आफैंले मिलाउनुपर्ने हुँदा दसैं जिम्मेवारीको हुँदो रै'छ,' दसैं तुलना गर्दै उनी भन्छन्, 'अहिलेको पहिला अल्लारे बेला गाउँघर घुमेर, खाएर, खेलेर बिताएको खुवै याद दिलायो ।'
उनले दसैंका मौका पारेर गाउँमा एउटा प्रतीक्षालय बनाउन छलफल गर्न पनि भ्याए । 'व्यक्तिगत रूपमा गरेको खर्चको खासै के महत्त्व भो र ? त्यसैले सामाजिक काम गरौं भनेर पनि दसैंका बेला जुट्यौं,' स्थानीय डुलबहादुर ढेंगाको अध्यक्षतामा निर्माण समिति गठन गरेको सुनाउँदै उनले भने, 'म उता (यूएई) बाट एक डेढ लाख रुपैयाँ संकलन गरेर पठाउँछु, यता उहाँहरूले प्रतीक्षालय बनाउनुहुन्छ ।' कतारमा रेस्टुरेस्टमा कार्यरत चण्डेनी-५ काभ्रेका नीराजन नेपाललाई दसैंको छुट्टी टीकापछि मात्र मिलेको छ । उनी दुई वर्षपछि घर आउने छुट्टी पाए पनि दसैं छुट्टीमा आएको चार वर्षपछि हो । दुई वर्षअघि तिहारको बेला आएका थिए ।
'दसैंमा टिकट नपाएर दाइ शनिबारमात्रै आउनुहुन्छ,' कतारबाटै फर्केर दुई दसैं मनाइसकेका भाइ महेश्वरले भने, 'परदेशको फुर्सद यस्तै हो, दसैं टीकाको दिनपछि भए पनि दाइ आउने खबरले खुसी छौं ।'
कतारमा कामको बिट मार्दै साढे ३ वर्षमा दसैंका बेला घर आएका थाक्रे-२, धादिङका सुरेश थापाको दसैं मान्ने धोको यसपालि पनि पूरा भएन । आफन्तको मृत्युको कारण टीकाटालो लगाउन नपाएका उनले भेटघाटमा बिताए । 'घरमा दसैं मान्न नपाएको पाँच वर्ष भएको थियो, यसपालि पनि मिलेन,' उनले भने, 'भेटघाट गरेर दसैं बत्यो, अरू काम हुन सकेन ।'
महाभारा-४, झापा निवासी नौलासिंह थापालाई भने दसैंमात्र होइन, सात महिनादेखि कुनै रमाइलो छैन । साउदी अरबमा काम गर्न गएका छोरा उदयको मृत्यु भएपछि उनी दुःखमा छन् । 'यसपालि त चाडबाड पनि बिरानो भ'को छ,' ६८ वषर्ीय थापाले भने, 'पोहोर दसैं मानेर गएको छोरो फर्किएन, के गर्नु जे परे पनि सहेर बस्नुपर्दो रहेछ ।'   

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved