काठमाडौ, कार्तिक १८ - पेचिलो भूराजनीतिक स्वार्थका कारण नेपालमा आफ्नो भूमिका बढाउन केन्द्रित छिमेकी राष्ट्र चीनले आगामी डिसेम्बर महिनालाई खर्चिला कार्यक्रमहरूले भरिभराउ पार्दैछ । सन् २०१२ को सुरुआतमा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणका क्रममा घोषणा गरेको 'नेपाल-चीन मैत्री आदानप्रदान वर्ष २०१२' लाई बिट मार्ने भन्दै 'डिसेम्बर प्लान' तय भएको हो ।
कान्तिपुरलाई प्राप्त जानकारी अनुसार डिसेम्बर पहिलो साता नेपाल-चीन मैत्री सप्ताह हुँदैछ । नेपाल र चीनका राष्ट्रिय टोलीहरूबीच मैत्रीपूर्ण फुटबल खेलसमेत समावेश गर्न खोजिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दुई बृहत् सेमिनार, पाँचवटा प्रदर्शनी, साहित्यिक कार्यक्रम र सांस्कृतिक प्रस्तुतिसमेत समेटिएको छ ।
मैत्री सप्ताहलगत्तै डिसेम्बर २१ मा लुम्बिनीमा लोकपि्रय चिनियाँ संगीतकार उ सीको धार्मिक कन्र्सट आयोजना गरिँदै छ । एक हजार हाराहारीको संख्यामा विशिष्ट चिनियाँ प्रतिनिधिहरू कन्र्सटमा सहभागी हुन नेपाल आउने भएका छन् । उच्चपदस्थ चिनियाँ अधिकारी, प्राध्यापक, साहित्यकार र कलाकारहरू त्यसमा सामेल हुने बताइएको छ ।
चीनले धार्मिक उदारीकरणको मार्ग समाएको सन्देशसहित बुद्ध धर्म अवलम्बन गर्ने तिब्बती समुदायलाई प्रभावित तुल्याउन यो कन्र्सटको तयारी भएको जानिफकारहरू बताउँछन् । कुनै समय सांस्कृतिक क्रान्तिका नाममा धर्म बर्जित गरेको चीनले उदारीकरणको युगसँगै धर्म मान्ने छुट दिएको छ । तर अझै चीनमा धर्म प्रचार बर्जित छ ।
संगीतकार सी आफ्नो कन्र्सटको तयारी व्यवस्थापनबारे जानकारी लिन केही दिनमै नेपाल आउँदै छन् । मैत्री सप्ताह र कन्र्सट दुवैको तयारी संयोजन गरिरहेको संस्था वल्र्ड कल्चरल नेट (डब्लूसीएन) का अध्यक्ष दीपक सरकारका अनुसार सीले कन्र्सटका लागि अहिलेसम्म भएका तयारीको निरीक्षण गरी अन्तिम चरणको तयारीका लागि निर्देशन दिनेछन् ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुने विशाल धार्मिक कन्र्सटका लागि बनाइने मञ्चका लागि मात्रै कम्तीमा डेढ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । 'स्टिल फ्रेमहरू भाडामा लिने हिसाबले मात्रै यो खर्च स्टिमेट भएको हो, तर पाएका छैनौं । किन्नै परे त खर्च धेरै बढ्छ । हामी सल्लाह गर्दैछौं,' सरकारले भने ।
कन्र्सटका दर्शकका रूपमा रहने हजार चिनियाँ प्रतिनिधि ओसार्न अघिल्ला तीन दिनमा चीनका तीन सहरबाट चल्ने पूरै उडानहरू बुक भइसकेका छन् । हजारमध्ये करिब ७ सय जना डिसेम्बर २१ साँझ कन्र्सटपछि लुम्बिनीका गुम्बाहरूमै ध्यान गरेर रात बिताउने योजनामा छन् भने बाँकीका लागि होटलमा व्यवस्था गरिनेछ ।
संगीतकार सीले केही वर्षअघि अन्तर्राष्ट्रिय चर्चामा रहेको सांघाई एक्स्पोमा पनि कन्र्सट दिएका थिए । यस पटक जन्मस्थल लुम्बिनीमै बुद्ध आराधना रूपी कन्सर्ट आयोजना हुँदा त्यसबाट अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण सन्देश प्रवाह हुने आयोजकहरूको विश्वास छ । दुवै कार्यक्रमका लागि स्थानीय आयोजक डब्लूसीएनका अध्यक्षले सरकारले चिनियाँ आयोजक संस्थाहरूले सम्बन्धित सरकारी लाइन एजेन्सीहरूसँगको समन्वयमा आफ्नोतर्फको तयारी गरिरहेको उल्लेख गरे । मैत्री सप्ताहका लागि चीन सरकार अन्तर्गत मन्त्रालयकै हैसियत राख्ने अन्तर्राष्ट्रिय मित्रताका लागि चिनियाँ राष्ट्रिय जनसंघ (सीपीएएसएस) र कन्र्सटका लागि डि्रम गार्डेन नामक चिनियाँ संस्था मूल आयोजक हुन् । नेपालतर्फ कन्र्सटका लागि संगीत तथा नाट्य प्रतिष्ठानलाई पनि सहआयोजक राखिएको सरकारले बताए ।
चीनले मैत्री सप्ताह र कन्र्सट दुवैलाई 'हाइप्रोफाइल' मा राखेको छ । नेपाली टोलीसँग मैत्री फुटबल खेल्ने चिनियाँ राष्ट्रिय फुटबल टोलीका २५ सदस्यसँगै विशेष चार्टड विमानबाट ७५ जना विशेष दर्शक पनि आउनेछन् । चीनले आफ्नो राष्ट्रिय टोली नै ल्याउन चाहे पनि नेपाली पक्षले चिनियाँ युवा टोली भएमा खासस्तर फरक नपर्ने र खेल एकतर्फी नहुने कुरामा जोड दिएको थाहा भएको छ । चीनले मैत्री सप्ताह उद्घाटनको दिन डिसेम्बर १ वा समापनका रूपमा डिसेम्बर ८ मा खेल आयोजना गर्न चाहेको छ ।
दुवै कार्यक्रमलगत्तै चीनले नयाँ वर्ष २०१३ का सुरुआती तीन महिना लगातार चीनका विभिन्न सहरमा नेपालसम्बन्धी प्रदर्शनीको प्रस्ताव गरिसकेको छ । सोही क्रममा ठूलो संख्यामा नेपालबाट विभिन्न क्षेत्रका अधिकारी र पेसाकर्मीहरूलाई ती सहरहरूको भ्रमण गराउने तयारीसमेत भएको छ । यस विषयमा काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता फोङ वनलिनसँग जिज्ञासा राख्दा केही महिनाअघि केही नेपालीहरूले मैत्री कार्यक्रमसम्बन्धी प्रस्ताव दूतावास समक्ष ल्याएको आफूलाई थाहा भएको तर त्यसपछिको घटनाक्रम जानकारी नभएको बताए ।



No comments:
Post a Comment