Headlines News :
Home » » प्रहरी सरुवाले सल्बलाए सुपारी तस्कर

प्रहरी सरुवाले सल्बलाए सुपारी तस्कर

Written By Unknown on Saturday, November 3, 2012 | 1:28 AM


काँकडभिट्टा, कार्तिक १८ - प्रहरीले झापाको नकलबन्दा नाकाबाट भारत निर्यात गर्न लागेको ३ हजार ७ सय किलो (७३ बोरा) सुपारी बरामद गरेपछि प्रहरी सरुवासँगै सुपारी कारोबारी सक्रिय भएको पाइएको छ । तस्करीमा कडाइ गरिरहेका पूर्व क्षेत्रका नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्रबहादुर शाहका साथै झापाका प्रहरी प्रमुख सरुवा भएको मौकामा तस्करले सक्रियता बढाएका हुन् ।   
जिल्ला प्रहरीको टोलीले नकलबन्दा नाका हुँदै भारत तस्करी गर्न लागिएको सुपारी बुधबार राति बरामद गरेको हो । बरामद सुपारी मेची भन्सारमा बुझाइएको छ । झापाको नकलबन्दा, बाहुनडाँगीलगायत नाकाबाट सुपारी तस्करी हुने गरेको छ ।  
 इन्डोनेसिया, मलेसिया, थाइल्यान्डलगायत मुलुकबाट ठूलो परिमाणमा सुपारी आयात गरी भारतमा तस्करी गर्ने धन्दा दशकौंदेखि जारी छ । डीआईजी शाहले तस्करीमा कडाइ गरेपछि सुपारी आयात घट्न थालेको थियो ।
तर पछिल्ला दिनमा पुनः बढ्न थालेको पाइएको हो ।  
काँकडभिट्टा नाकाबाट गएको डेढ महिनामै करिब ११ करोड १ लाख ६० हजार मूल्यको सुपारी आयात भएको छ । मेची भन्सारका अनुसार करिब १ हजार ६ सय २८ टन (१ सय ८ कन्टेनर) सुपारी भित्रिएको छ । निमित्त भन्सार प्रमुख उमेश श्रेष्ठले असोजमा १ हजार ७२ टन -६७ कन्टेनर) र दसैं बिदाको बेला ६ सय ५६ टन (४१ कन्टेनर)  सुपारी आयात भएको जानकारी दिए । घरेलु मागभन्दा बढी सुपारी यहीँ उत्पादन हुने गरेको छ ।  
'प्रहरी कडाइका कारण केही महिनायता घट्दो क्रममा रहेको सुपारीको आयात ह्वात्तै बढ्यो,' भन्सार स्रोतले भन्यो । आर्थिक वर्ष २०६८/०६९ मा १५ करोड १४ लाख ९० हजार मूल्यको सुपारी आयात भएको थियो । तर चालू वर्ष सुपारीको आयात आकासिने भन्सारको अनुमान छ । 'यही क्रम जारी रहे सुपारीले भन्सारको लक्षित राजस्व धान्न सक्छ,' स्रोतले भन्यो ।
अवैध कारोबार निरुत्साहित गर्न भन्सारले सुपारीको मूल्यांकनमा भारी वृद्धि गरेको थियो । प्रतिटन ४ सय ५० डलर रहेको सुपारीको मूल्यांकन ७ सय ५० डलर पुर्‍याइएको छ । मूल्यांकन वृद्धिपछि केही महिना यसको आयात प्रभावित भएको थियो । 'मूल्यांकनमा भारी वृद्धि गर्दा पनि आयात घट्न सकेन,' स्ा्रोतले भन्यो ।
गत वर्ष भदौमा शाह पूर्व क्षेत्रको डीआईजी भएपछि सुपारी तस्करीमा कडाइ सुरु भएको थियो । यसअघि प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको थियो । तस्करी नियन्त्रण गर्न शाहले डीएपसीको नेतृत्वमा आफ्नै कार्यालयको टोली झापामा परिचालन गरेका थिए । तस्करीमा कडाइ भएपछि सुपारीका साथै खाद्यवस्तु तस्करको समूहले शाहलाई सरुवा गराउन प्रयास गरेका थिए । दसैंअघि शाहको ठाउँमा पूर्व क्षेत्रमा प्रहरीको नेतृत्व पर्शुराम खत्रीले पाएका छन् । 'खत्री आएलगत्तै लाइन खुलाउन सुपारी तस्करले लबिङ सुरु गरेका छन्,' स्रोतको दाबी छ ।
स्ा्रोतका अनुसार भारतीय व्यवसायी नारायण अग्रवालले करिब ३ सय कन्टेनर (४ हजार ८ सय टन) सुपारी आयात गर्न वाणिज्य मन्त्रालयबाट इजाजत लिएका छन् । 'तस्करी गर्न नपाउने हो भने उक्त सुपारी यही कुहिन्छ,' एक सुपारी व्यवसायीले भने । स्रोतका अनुसार यसअघि बंगलादेशको बाटोबाट वैध रूपमै सुपारी भारत निर्यात हुन्थ्यो । बंगलादेशले निर्यातमा महसुल बढाएपछि उक्त बाटोबाट कारोबार बन्द भएको छ । 'बंगलादेशबाट कारोबार बन्द भएपछि नेपालमा आयात बढेको हो,' एक व्यवसायीले भने ।
मुलुकमा सुपारीको खपत न्युन छ । त्यसमाथि आन्तरिक उत्पादनले नै माग धान्न सक्ने जानकारहरु बताउछन् । 'आयातीत सुपारी भारतमा तस्करी गर्न ल्याइएको हो भन्ने बुझे हुन्छ,' ती व्यवसायीले भने ।
सुर्तीजन्य पानमसाला, गुट्खाका लागि भारतमा गुणस्तरहीन सुपारीको उच्च माग छ । तर भारतमा आयात महसुल बढी हुनाका साथै गुणस्तरहीन सुपारी आयात गर्न त्यहाँको क्वारेन्टाइनले इजाजत नदिने भएकाले नेपालबाट तस्करीमार्फत भित्रिएका सुपारी त्यहाँका गुट्खा उद्योगले प्रयोग गर्छन् ।  
अवैध ३४ टन  बरामद सप्तरीको भारदहस्थित कोसी ब्यारेजबाट मंगलबार राति प्रहरीले १७ लाख रुपैयाँ बराबरको अवैध सुपारी बरामद गरेको छ । इलाका प्रहरी र सशस्त्र प्रहरी बेस क्याम्पको संयुक्त टोलीले पूर्वतर्फ जाँदै गरेको दुई वटा ट्रकमा लोड गरिएको ४ सय १० बोरा -३४ टन) सुपारी बरामद गरेको सप्तरी जिल्ला प्रहरीले जनाएको छ ।
ना२ख ९५०४ र ना३ख ९९०३ नम्बरका ट्रकमा रहेको सुपारी कारबाहीका लागि इटहरिस्थित आन्तरिक राजस्व कार्यालय बुझाइएको प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए । यस्तै सप्तरी प्रहरीले औरही ७ बाट ११ वटा चौपायासहित तीन जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गर्दा प्रहरीले तीन गाई, दुई बाच्छा, चार वटा बहर, एक जोडी भैंसीका माउपाडा नियन्त्रणमा लिएर भन्सारमा बुझाएको जिल्ला प्रहरीले जनाएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved