१७ कात्तिक, काठमाडौं । एउटा कुखुराले झण्डै एक पाउको अण्डा पारेको कहिल्यै देख्नुभएको छ ? देख्न त परै जाओस्, तपाईंमध्ये धेरैले यस्तो सुन्नुभएको पनि छैन होला । तर पर्वतमा एक व्यसायीले पालेको कुखुराले एकसय ८१ ग्राम अर्थात झण्डै एक पाउको अण्डा पारेको छ । कुखुराले पारेको सानो निबुवा जत्रो अण्डा देखेर कुखुरा व्यसायी मात्र होइन वरपरका सबै चकित परेका छन् ।
पर्वत कुस्माबजार प्रगतिचोकका विषमकुमार श्रेष्ठले पालेको कुखुराले हिजो बिहीबार दिउँसो १सय ८१ ग्राम तौल भएको अण्डा पारेको हो । कुखुराले स्वादे अण्डा पारेको खबर सुनेपनि श्रेष्ठको घरमा अण्डा हेर्नेहरुको बिहीबारदेखि नै भीड लागेको छ ।’बुधबार यही कुखुराले जम्मा ४६ ग्राम तौल भएको अन्डा दिएको थियो, सधैँ पार्नेभन्दा तेब्बर ठूलो अन्डा पारेको देखेपछि सुरुमा आफैँ अचम्ममा परे’ श्रेष्ठले भन्नुभयो- “पत्याउनै नसक्ने गरी अन्डा पारेपछि अरूलाई पनि दंग परेका छन् ।’ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको केन्द्रीय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यक्रमका प्रमुख दामोदर न्यौपानेका अनुसार स्थानीय जातको कुखुराले बढीमा ६० ग्राम र उन्नत जातको कुखुराले ७० ग्रामसम्मको अण्डा पार्छ । ‘अण्डाभित्रको रानी डबल बन्यो भने कहिलेकाहीँ ठूलो अण्डा पनि हुन्छ’ न्यौपानेले अनलाइनखबरसित भन्नुभयो -’तर यस्तो निकै कम मात्र हुन्छ, हजारौंमा एउटा घटना मात्र यस्तो हुन सक्छ ।’
जुम्ल्याहा बच्चा जस्तै कहिलेकाहीँ अण्डा बन्नेबेला दुईवटा अण्डाको तत्व एकै ठाउँमा मिसिएर यस्तो हुन सक्ने उहाँले बताउनुभयो । तर यस्तो निकै कम मात्रै हुने भएकाले पर्वतको घटना नौलो रहेको उहाँको भनाई छ । त्यसो त ठूलो अण्डा देख्ने पर्वत कुश्माबजारका बासिन्दा मात्र होइन जिल्लाका पशुविज्ञ पनि आश्चर्यचकित भएका छन् । ‘एकै दिनमा तेब्बरभन्दा पनि ठूलो आकार र तौलको अन्डा पार्ने घटना अनौठो हो’ जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख दीर्घनाथ ढुङ्गानाले भन्नुभयो -’कुखुराले नियमित रूपमा दिनदिनै अण्डा दिनुपर्नेमा दुईचार दिन अण्डा नदिई रोकिएमा ठूलो आकारमा निस्कन सक्छ ।’ तर कुखुरा व्यवसायी श्रेष्ठका अनुसार त्यो कुखुराले मंगलबार र बुधबार पनि नियमितरूपमा अन्डा दिएको थियो ।
यसअघि चितवनमा कुखुराले अहिलेसम्मकै सबैभन्दा सानो अण्डा पारेको थियो । चितवनका एक किसानले पालेको कुखुराले जम्मा २ ग्रामको अण्डा पारेको हो । विज्ञका अनुसार त्यो अण्डामा चाहिा अण्डा बन्ने तत्व नै कम भएर त्यस्तो भएको हो । सामान्यतया ६० देखि ७० ग्रामको अण्डा पार्ने कुखुराले २ देखि २ सय ग्रामको कुखुरा पार्न थाल्नु आफैंमा अचम्मको कुरा हो ।



No comments:
Post a Comment