Headlines News :
Home » » ६ गाविसमा नेपाली रुपैयाँ चल्दैन

६ गाविसमा नेपाली रुपैयाँ चल्दैन

Written By Unknown on Monday, October 29, 2012 | 2:10 AM


तडी, कार्तिक १३ - भारतसित सीमा जोडिएका तल्ल्लोस्वराड क्षेत्रका आधा दर्जन गाविसमा नेपाली रुपैयाँ चल्दैन । यहाँका बासिन्दाले भारतीय रुपैयाँबाटै कारोबार चलाउँछन् ।
भारतीय चम्पावतसित जोडिएका महाकाली किनारका पञ्चेश्वर, शर्माली, महाकाली, गिरेगाडा, रोडिदेवललगायत ८ गाविसमा भारतीय मुद्रा चलनचल्तीमा छ । यहाँबाट सदरमुकाम आउजाउ गर्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्य छ ।
सडक सुविधाबाट दुई दिन पैदल टाढाका यहाँका बासिन्दाले नेपाली नागरिकताबाहेक अन्य सेवा नपाएको गुनासो गरे । तीन दशकसम्म निर्माणाधीन पाटन-पञ्चेश्वर सडक निर्माण पूरा नहुँदा यहाँका बासिन्दा भारतीय बजारको भर पर्नुपर्छ । सबै कुरामा भारत निर्भर भएकाले स्थानीयले यो क्षेत्रलाई गुमदेश भन्ने गरेको गिरेगाडाका रमेशसिंह भण्डारीले बताए ।         
भारतसित मात्र कारोबार हुने भएकाले सर्वसाधारणले सरकारी निकायबाट आएको बजेट भारतीय रुपैयाँ मात्रै बुझ्ने गरेको शर्मालीका करन साउदले बताए । 'सबै कारोबार भारतमै हुने गरेको छ, नेपालको नागरिकताबाहेक कुनै सुविधा छैन ।' साउदले भने, 'यातायात र सदरमुकामसितको पहुँच नहुँदानेपाली रुपैयाँ नचल्ने गरेको हो ।' दैनिक उपभोग्यलगायत सबै सामान भारतीय बजारमा खरिद बिक्री गर्नुपर्ने भएकाले भारतीय मुद्रामा कारोबार गर्न सजिलो हुने गरेको स्थानीय व्यापारी बताउँछन् । नुन, तेल र खाद्यान्नलगायत उपभोग्य सामग्रीका लागि भारतीय बजार लुहाघाट, चम्पावत जाने बाध्यता रहेकाले नेपाली मुद्रामा कारोबार नहुने गरेको स्थानीयवासी बताउँछन् ।      
स्थानीय उत्पादन र गाविसमार्फत वितरण गरिने सामाजिक सुरक्षा भत्ता र विकास बजेटसमेत भारतीय मुद्रा सटही गरेर बाँड्नुपरेको महाकाली गाविस सचिव उदयसिंह चाडले बताए । 'सदरमुकाम आएर भारतीय रुपैयाँ साटेर गाउँ जानुपर्छ,' सचिव चाडले भने ।
त्यस क्षेत्रका आधा दर्जन संघसंस्थाले दर्जनौंपटक ज्ञापन बुझाए पनि यातायातलगायत आधारभूत सुविधा पुर्‍याउन सरकारी पहल नभएको गुनासो गरे । 'पाटन-पञ्चेश्वर सडक निर्माणमा जोड दिन दर्जनौंपटक माग गर्‍र्यौं ।' कुलावका तारा चन्दले भने, 'दलका कार्यकर्ता र कर्मचारी आएको बजेट खानमात्रै लाग्छन्, यातायात नहुँदा स्वदेशको मुद्रासमेत चिन्दैनन् ।' तल्लोस्वराड क्षेत्रको समस्याबारे नेता र जिल्ला परिषद्बाट बर्सेनि आश्वासन पाए पनि सुविधा नपाएको स्थानीयको गुनासो छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved