गोलबजार (सिरहा), कात्तिक १३ - सिरहाको सुखचैना गाविसमा नेपालीको जग्गा मिचेर भारतीय पक्षले खनेको पोखरी २४ घण्टाभित्र पुरिदिने सहमति भएको छ। सुखचैनाका ४ जना किसानले आफ्नो जग्गा मिचेर भारतीय पक्षले पोखरी खनेको भन्दै सशस्त्र प्रहरी वेश क्याम्प माडरलाई जानकारी गराएपछि आज बिहान त्यहाँ गएर छलफल हुँदा पोखरी २४ घण्टा भित्र पुरिदिने सहमति भएको हो।
दशगजा क्षेत्रमा रहेको पिलरभन्दा १५ फिट मिचेर सिरहा सुखचैना गाविसस्थित भारतीय मधुवनी जिल्ला कमलाबारी ग्राम पञ्चायत-३ मलाह टोलका बासिन्दाले पोखरी खनेका हुन्।
माडरका सशस्त्र प्रहरी निरीक्षक मानबहादुर पाण्डेले भारतीय सीमा सशस्त्र बल सुरक्षा पोष्ट कमाण्डर एचसी चन्दन सिंह, कमलाबारीका मुखिया भोला यादव र मलाह टोलका स्थानीयबासीसँग छलफल हुँदा खनेको पोखरी २४ घण्टाभित्र पुरिदिने सहमति भएको बताए ।
नेपालीतर्फका किसानहरु जग्गा मिचेको जानकारी गराएपछि भारतीय पक्षसँग छलफल गरिएको माडरका प्रहरी निरीक्षक पाण्डेको भनाइ छ।
भारतीय पक्षले पोखरी खनेको जग्गा सिरहा सुखचैनाका रामकृपाल यादव, रामसेवक यादव, धनिकलाल यादव, विजयलाल यादवका छन्।
भारतीय पक्षले दशगजा क्षेत्रमा रहेको २६५/२२ नम्बरको मझौला पिलर र २६५/२४ नम्बरको सानो पिलरदेखि १५ फिट नेपाली जग्गा मिचेर छ फिट गहिराइ, ५० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको पोखरी खनेको नेपाली सशस्त्र प्रहरी वेशक्याम्प माडरले जनाएको छ। रासस


No comments:
Post a Comment