Headlines News :
Home » » लुम्बिनीमा प्रचण्डलाई सचिवको चुनौती

लुम्बिनीमा प्रचण्डलाई सचिवको चुनौती

Written By Unknown on Thursday, November 8, 2012 | 2:20 AM


२३ कात्तिक, काठमाडौं । लुम्बिनी बिकाश परियोजनामा एपेक नामक चिनियाँ संस्थालाई संलग्न गराउने योजनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले प्रचण्डलाई चुनौती दिएपछि सचिवले हस्ताक्षर गर्ने कागजमा प्रचण्ड आफैले हस्ताक्षर गरेका छन् ।
बुधबार साँझ काठमाण्डौंको सोल्टी होटलमा एपेकका कार्यकारी उपाध्यक्षसँग प्रचण्डले सम्झौतामा हस्ताक्षर गर्नु लामै ‘ब्युरोक्रेटिक टसल’को परिणाम भएको बिश्वस्त स्रोतको भनाई छ ।
लुम्बिनी बिकाशका लागि काम गर्ने तालुकवाला निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञ गौतमले सो सम्झौतामा हस्ताक्षर गर्नुपर्ने भएपनि गौतमले आनाकानी गरेपछि बृहत्तर लुम्बिनी बिकास राष्ट्रिय निर्देशक समितिको संयोजकको हैसियतले आफैं अघि सर्नुपरेको बताइएको छ । अघिल्लो बर्षपनि तत्कालिन संस्कृति सचिव मोदराज डोटेलले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गर्दै राजीनामा दिएका थिए ।
सचिव गौतमले सम्झौताको मस्यौदा तयार पार्दादेखि नै असहयोग गरेको प्रचण्ड निकट सूत्रको दावी छ । मन्त्री पोष्टबहादुर बोगटीले दिएको निर्देशन पटक पटक अस्वीकार गरेपछि सचिवलाई बाइपास गरेर सम्झौता गरिएको बताइएको छ ।
सम्बद्ध सूत्रका अनुसार सचिव गौतमले असहयोग गरेपछि मुख्य सचिव लिलामणि पौडेल नै अग्रसर हुनुपरेको थियो । सम्झौतामा हस्ताक्षर गर्नुअघि पौडेल र प्रचण्डवीच सम्झौताका बुँदाबारे प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको थियो ।
प्रचण्डले हस्ताक्षर गरेपनि निर्णय कार्यान्वयन गराउने मध्ये एक सचिव गौतम पनि हुन । किनकी निर्देशक समितिको पदेन सदस्य संस्कृति मन्त्रालय पनि हो ।
गत असोज ४ गतेको मन्त्रीपरिषद बैठकले संस्कृति मन्त्रालयलाई निर्देशक समितिको पदेन सदस्य बनाउने निर्णय गरेको थियो । निर्देशक समितिका निर्णय र गतिबिधिका वारेमा मन्त्रालय बेखबर भएको गुनासो बढेपछि संस्कृति मन्त्रालयलाई पेदन सदस्य बनाउने निर्णय गरेको हो । निर्देशक समितिमा अव छिटै कर्मचारीसहितको सचिवालय स्थापना हुने बताइएको छ । त्यसका लागि अर्थमन्त्रालयले बजेट बिनियोजना गर्ने प्रक्रिया अघि बढाउन लागेको एक अधिकारीले बताए ।
‘नखाउ भने दिनभरीको शिकार खाउ भने कान्छा बाबुको अनुहार’भन्ने नेपाली उखान सचिव गौतमको जीवनमा चरितार्थ भएको छ । स्रोतका अनुसार सचिवमा बढुवा भएर मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना नपुग्दै कि त अव जगेडामा पर्नेछन कि त अन्यत्र कतै सरुवा हुनेछन । सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष र सो पार्टीका सचिव समेत रहेका मन्त्री बोगटीले नरुचाएका सचिव गौतम संस्कृति मन्त्रालयमा नरहने सूत्रको दावी छ । प्रचण्ड लुम्बिनी बिकास परियोजनालाई जसरी पनि अघि बढाएर केहि काम शुरु गरी हाल्ने पक्षमा छन । सचिव गौतमले आफनो योजनामा अवरोध सिर्जना गरेको अनुभव प्रचण्डले गरेका छन् ।
मुख्य सचिव पौडयालले दिएका सुझावका आधारमा लुम्बिनी बिकासका लागि बौद्धमार्गी साँस्कृतिक संरक्षण क्षेत्र र नेपाल चीन बौद्धमार्गी साँस्कृतिक आदान प्रदान गर्ने तीन पृष्ठको समझदारीपत्रको प्रतिलिपि सोल्टी होटलमै सच्याइएको हो । उनान नेतृत्वको एपेक फाउण्डेसनको प्रतिनिधि मण्डल सोल्टी होटलमा बसेको थियो । उनान नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार बिहान उपराष्ट्रपति परमानन्द झासँग पनि उनकै कार्यालयमा समझदारी पत्रका वारेमा छलफल गरेको थियो ।
लुम्बिनी बिकासमा चासो व्यक्त गर्दै आएका संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको नेपाल भ्रमण रोक्ने वकालतमा डोटेल सहित राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम लगायतका व्यक्ति लागेका थिए । डोटेल, कुलचन्द्र गौतम, यज्ञ गौतम र उनीहरुका सहयोगीहरुले लुम्बिनी बिकास परियोजनालाई असफल गराउन देश भित्र र बाहिर अभियान छेडन सक्ने कुरामा एपेक सचेत देखिएको छ । अघिल्लो बर्ष जसरी उनीहरुले परियोजनालाई असफल बनाउन वा ढिलाइ गराउन सक्ने अवस्था अहिले नभएको ती अधिकारी बताउँछन । ती अधिकारी भन्छन ‘उनीहरु आफै थाक्छन । हामी काम गर्छौ ।’
पाँच बर्षअघि एशियाली बिकास बैंकले प्रक्षेपण गरेको तीन अर्वदेखि पाँच अर्व अमेरिकी डलरको लागतमा लुम्बिनी बिकास परियोजना निर्माण गरिने एपेक फाउडेसनका कार्यकारी उपाध्यक्ष सियाओ उनानले बताए । ‘हामी आफैले लगानी गर्ने होइन, संसारभरका बिभिन्न संघ संस्थाले लगानी गर्ने हो हामीले समन्वय गर्ने हो’उनानले बुधवार सोल्टी होटलमा पत्रकारहरुसँग भने ‘पर्यटकीय सुविधाका पूर्वाधार निर्माण गर्न मध्यपूर्वका लगानीकर्ता इच्छुक छन भने अन्य पूर्वाधार निर्माणका लागि संसारका अन्य क्षेत्रका लगानीकर्ताले इच्छा देखाएका छन ।’
मुस्लिमको मक्का र क्याथोलिकको भेटिकन सिटी जस्तै काठमाडौदेखि एक सय ७१ किलोमिटर पश्चिममा रहेको लुम्बिनीलाई बौद्धमार्गीका लागि अन्तराष्ट्रिय पवित्र तीर्थस्थल र अन्तराष्ट्रिय बिश्व शान्तिको शहर बनाउने लक्ष्यका साथ लुम्बिनी बिकास परियोजनाको डिजाइन गरिएको हो । क्षेत्रीय शान्ति,समृद्धि र स्थायित्वका लागि चीन नेपाल र भारतले लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर त्रिदेशीय रणनीतिक साझेदारीको बिकास गरेर अघि बढनु पर्नेमा प्रचण्डले जोड दिँदै आएका छन्।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved